सलामी सहित सेनाका जवान कडेँलको महादेवस्थान स्थित त्रिशूली नदी किनारमा अन्त्यष्टी

सलामी सहित सेनाका जवान कडेँलको महादेवस्थान स्थित त्रिशूली नदी किनारमा अन्त्यष्टी

मुग्लिन,४ मंसिर । प्रहरी हिरासतमा मृत्यु भएका चितवनको इच्छाकामना ५ मुग्लिन निवासी नेपाली सेनाका जवान राम कडेँलको आज अन्त्यष्टी गरिएको छ । आज नेपाली सेनाको समेत उपस्थितिमा उनको अन्त्याष्टी गरिएको हो । उनलाई नेपाली सेनाको एक टोलीले इच्छाकामना ५ महादेवस्थान स्थित त्रिशूली नदी किनारमा शोक सलामी दिएर अन्त्यष्टी गरिएको पत्रकार रोहिणी त्रिपाठीले जानकारी दिनुभयो ।
अन्त्यष्टीमा नेपाली सेनाको इन्भेष्टीगेसन डिपार्ट काठमाडौँका कर्णेल साम्बरा अर्याल र आर्मी हेडक्वाटरका क्याप्टन नवराज खड्का सहित २१ जना नेपाली सेनाका विभिन्न तहका सदस्यहरु उपस्थित थिए । साथै प्रदेश सांसद घनश्याम दाहाल , गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङ लगायत जनप्रतिनिधि, राजनितिक दलका प्रतिनिधि स्थानीय लगायतको ठूलो संख्यामा उपस्थित थिए ।
कडेँललाई प्रहरी जवान ठाकुर ढकालसंग सामान्य विवादपछि मंसिर १ गते सोधपुछका लागि अस्थाई प्रहरी पोष्ट इच्छाकामना ३ फिस्लिङमा लगिएको थियो । आधा घण्टापछि प्रहरीपोष्टको भवनबाट तल खसेको अवस्थामा अचेत अवस्था भेटिएको थियो । उनको उपचारका लागि भरतपुर लैजादैँ गर्दा बाटैमा मृत्यु भएको हो ।
इच्छाकामना पञ्चमी मेला भरेर फर्कने क्रममा गाडीमै सामान्य विवाद भएपछि गाडीबाट संगै ओर्लिएका प्रहरी जवानले प्रहरीपोष्ट भित्र लिएर गएका थिए ।
आफन्त र स्थानीयले प्रहरीले नै हत्या गरेको भन्दै आन्दोलन गर्दै आएका थिए । परिवारले घटना पश्चात किटानी जाहेरी दएका थिए ।
मंगलबार प्रदेश सांसद घनश्याम दाहाल, प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत , जिल्ला प्रहरी कार्यालय चितवनका प्रमख एसपी दान बहादुर मल्ल, नेपाली सेनाको कालि बहादुर गण चितवनका गणपती विज्ञान खनाल, गाउाँपालिका अध्यक्ष गीता कुमारी गुरुङ, उपाध्यक्ष कृतिकुमार श्रेष्ठ, नेकपाका प्रतिनिधि प्रताप गुरुङ र स्थानीयबिचभएको वार्तामा दोषी प्रहरीलाई कारबाहीको दायरामा ल्याउने र पीडित परिवारलाई उचित क्षतीपूर्ती उपलब्ध गराउने लगायतका मागहरुमा सहमती जुटेपछि परिवारले शब बुझेका थिए ।
शान्ती सेना जाने तयारीमा थिए कडेँल
कडेँलका मामा विनोद घिमिरेका अनुसार फागुनमा उनि शान्ती सेना जाने तयारीमा थिए । शान्ति सेना जानका लागि आवस्यक कागजात तयार पार्न र आमालाई भेट्न भनी उनि विदामा घर आएका थिए । १२ बर्ष अघि देखि नेपाली सेनामा कार्यरत २८ बर्षिय कडेँल एउटा इमान्दार र कर्तव्यनिष्ट व्यक्ति थिए । उनको परिवारमा अहिले आमा, र एक भाई छन् ।