धादिङमा बिहेको भोलिपल्ट श्रीमतीको हत्यागरि सेफ्टी ट्यांकमा लास लुकाइयो

धादिङमा बिहेको भोलिपल्ट श्रीमतीको हत्यागरि सेफ्टी ट्यांकमा लास लुकाइयो

कुरिनटार-धादिङका एक युवकले विवाहको भोलिपल्टै पत्नीको हत्या गरेका छन् । गत मंसिर ९ गते २० वर्षीय अनिशा तामाङलाई दुलहीका रुपमा भित्र्याएका धादिङको सिद्धलेक गाउँपालिका–३ का २३ वर्षीय अर्जुन थापा मगरले भोलिपल्टै पत्नीको हत्या गरेका हुन् । मकवानपुरकी अनिशालाई बिहे गरेकै भोलिपल्ट हत्या गरी घटनाको ढाकछोप गर्न शौचालयको सेप्टि ट्यांकीमा लुकाएको खुलेको हो ।

खाल्डो छोप्ने ढक्कन निकै ठूलो भएकोले अर्जुनले शव लुकाउन ढक्कन उठाउन काका ३२ वर्षीय छवि थापा र आफन्त ४७ वर्षीय इन्द्रबहादुर थापालाई समेत प्रयोग गरेका थिए । मंसिर १० गते दिउँसोसम्म नयाँ दुलही अनिशालाई देखेका छिमेकीले ११ गते बिहान भने घरमा नदेखेपछि उनीहरुले अर्जुनलाई सोध्दा माइतीघर गएकी भनेर टारेका थिए ।

केही दिनपछि कुहिएको दुर्गन्ध आउन थालेपछि फेरि छिमेकीले सोधे, ‘के हो यस्तो बेस्सरी गन्हाएको?’ अर्जुन र उनका केही आफन्तले गोरु मरेको जबाफ दिएका थिए । वरिपरी कसैको गाईगोरु नमरेको र अनिशा धेरै दिनदेखि हराइरहेकाले उनको हत्या नै भएको छिमेकीले शंका गरे । छिमेकीले घटनाबारे शंका गरेपछि प्रहरीलाई खबर गरेका थिए ।

गाउँलेले नै थाहा पाएपछि घटना बारे प्रहरीलाई सूचना दिइएको सिद्धलेक–३ का अध्यक्ष देवबहादुर पुलामीले बताए । गाउँलेहरुको सूचनाका आधारमा प्रहरीले अनिशाका श्रीमान् अर्जुन थापा मगर, उनका काका ३२ वर्षीय छवि थापा मगर ४७ वर्षीय इन्द्र थापा मगरलाई पक्राउ गरेको छ । याे खबर आजको कान्तिपुर दैनिकबाट लिइएकाे हाे ।

तस्बिर : अन्यत्र भएको घटनाको फाइल तस्बिर हो।