नेकपा केन्द्रीय कमिटी बैठक : भ्रष्टाचारीलाई मृत्युदण्ड दिने कानुन बनाउन माग

काठमाडौँ,१८ माघ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठकमा भ्रष्टाचारीलाई मृत्युदण्ड दिनुपर्नेदेखि लिएर यति होल्डिङ्स प्रालिको जग्गा भाडा लगायतका विभिन्न अनियमितताको गम्भीर छानविनको माग उठेको छ ।
बैठकमा पेश भएका विभिन्न प्रतिवेदनमाथि समूहगत छलफलका क्रममा यस्ता धारणा आएका हुन् । शनिबार बसेको बैठकमा विभिन्न समूहका टोली नेताहरुले आ–आफ्नो समूहका निष्कर्ष रिपोर्टिङ गर्दै भ्रष्टाचारीलाई मृत्युदण्डको व्यवस्था गर्नुपर्ने मागसमेत उठेको जानकारी गराए ।
समूह नम्बर ५ का टोली नेता ठाकुर गैरेले आफ्नो समूहमा भ्रष्टाचारीलाई मृत्युदण्डको व्यवस्था गर्न माग उठेको जनाए । अहिले मृतयुदण्ड दिने कानुन नभएपनि सरकारले अब सो कानुन बनाउनु पर्नेमा आवाज उठेको थियो । उनले सार्वजनिक पदमा बस्नेकोसम्पत्ति छानविन गर्नुपर्ने माग पनि उठेको बैठकमा जानकारी दिए ।
सबैजसो टोलीमा यति होल्डिङ्सको जग्गा भाडामा भएको अनियमितता, बालुवाटार जग्गा प्रकरणबारे चर्चा भएको थियो । पछिल्लो समय सरकारका मन्त्रीहरु, पार्टीका नेताहरु विभिन्न काण्डमा मुछिन थालेको भन्दै उनीहरुले कडाइका साथ छानविन गरी सत्यतथ्य बाहिर ल्याउन मागसमेत गरेका छन् ।
