पप्पुको बदमासी: चार बर्षमा पनि बनाएन चितवनको इच्छाकामना र गोरखाको गण्डकी गाउँपालिका जोड्ने पुल

पप्पुको बदमासी: चार बर्षमा पनि बनाएन चितवनको इच्छाकामना र गोरखाको गण्डकी गाउँपालिका जोड्ने पुल

अश्विन दानी
गोरखा :  निर्माण क्षेत्रमा ठेक्का हात पार्दै काम अलपत्र छाडेर बदनामी कमाएको पप्पु कन्स्ट्रक्सनले गोरखामा पनि यस्तै धन्दा दोहोर्‍याएको छ। पप्पु कन्स्ट्रक्सन पर्सा क्षेत्र नम्बर तीनबाट निर्वाचित सांसद हरिनारायण रौनियारको हो। पप्पुका नामबाट चिनिने रौनियारले खोलेको यो निर्माण कम्पनीले देशभर नै विकासका काम अलपत्र पारेको छ। गोरखामा पनि ठेक्का हात पार्न भ्याएको यो कम्पनीले गण्डकी गाउँपालिका र चितवनको इच्छाकामना गाउँपालिका जोड्ने त्रिशुली नदीमाथिको पुल अलपत्र पारेको हो। दुई बर्षभित्रै निर्माणको सक्नेगरी पप्पुले कुल १७ करोड रुपैँया लागतको यो पूलको ठेक्का हात पारेको थियो। २०७३ असारमा भएको ठेक्का सम्झौताअनुसार पप्पुले यो पूल २०७५ असारसम्म निर्माण गरिसक्नुपर्ने थियो। ठेक्का अवधि अर्थात अघिल्लो असारसम्म पप्पुका कर्मचारी आक्कलझुक्कल निर्माणस्थलमा झुल्किने गरेको, तर त्यसपछि नदेखिएको स्थानीय बताउँछन्। शूरुको ठेक्का अवधि सकिएदेखि नै पुल निर्माणको काम ठप्प छ। तर सरकारले कामै नगर्ने पप्पुलाई पछिल्लो पटक २०७७ असार मसान्तसम्म म्याद थप गरिदिएको छ। थपिएको म्याद सकिन जम्मा पाँच महिना मात्रै बाँकी छ। तर अहिलेसम्म पूल निर्माणको काम जम्माजम्मी १६ प्रतिशत मात्रै सकिएको छ। आयोजना कार्यालय गोरखाका इन्जिनियर राजेशकुमार यादवले असार मसान्तसम्म काम नसके पप्पुमाथि कारबाही हुने बताए। तर, दुई बर्षभित्रै काम सिध्याउँछु भन्दै ठेक्का लिएर चार बर्षसम्म पूल निर्माण अलपत्र पार्ने ठेकेदारलाई पटक–पटक म्याद थप्ने काम यही आयोजनाले गरेको हो। पप्पुलाई ुमन्त्रालयकै साथ’ समयमै काम नगर्ने र कार्यालयको सम्पर्कमा नआउने ठेकेदारलाई भौतिक पूर्वाधार विकास मन्त्रालयले नै संरक्षण गरिरहेको सरकारी कर्मचारीहरु बताउँछन्। मन्त्रालयले ठेकेदारको माग अनुसार त्रिशुली नदीमा उत्पादन गर्न लागिएको जलविद्युत आयोजनालाई बेलिब्रिज बनाउन लगाएर सहज गरिदिने निर्णय गरेको हो। ‘अब त्यहाँ बेलिब्रिज बन्ने पक्का भएको छ’ आयोजना कार्यालय गोरखाका इन्जिनियर राजेश यादवले भने ‘निर्माण सामग्री लैजान समस्या भएको भन्दै आएका ठेकेदारले त्यसपछि काम गर्न सक्छु भनेका छन्।’ पप्पुको बदमासीले जलविद्युत आयोजना नै प्रभावित पप्पु कन्ट्रक्सनले समयमै पुल निर्माणको काम सम्पन्न नगर्दा १०० मेगावाटको जलविद्युत आयोजना प्रभावित बनेको छ। पप्पुले पुल निर्माणको काम अलपत्र छाडेपछि हाईड्रोपावर निर्माणका लागि आवश्यक सामग्री ढुवानी गर्न असहज प्रोजेक्ट म्यानेजर निरञ्जन रेग्मीले बताए। निर्माण सामग्री ढुवानी गर्न असहज भएपछि अहिले जलविद्युत आयोजनाले पप्पुले पुल बनाउनु पर्ने भन्दा करिब ३० मिटरमाथि बेलिब्रिज बनाउन लागेको छ। रेग्मीका अनुसार त्यहाँ १०० मिटर लामो बेलिब्रिज बन्ने छ। पप्पु कन्ट्रक्सनले समयमै पुल निर्माण गरिदिएको भए आयोजनाले त्यहाँ बेलिब्रिज बनाउनुपर्ने थिएन। पप्पुलाई एक बर्षसम्म नयाँ काम गर्न प्रतिबन्ध पप्पु कन्ट्रक्सनलाई सरकारले एक वर्षसम्म नयाँ कामको जिम्मा लिन नमिल्ने गरी प्रतिबन्ध लगाएको छ। आयोजना कार्यालयले थपेको म्याद नसकिएसम्म नयाँ कामको जिम्मा लिन नमिल्ने गरी प्रतिबन्ध लगाएको हो। प्रतिबन्धित समयावधिमा भन्दा अघि जिम्मा लिएको काम गर्न पाएपनि उक्त कन्ट्रसनले नयाँ ठेक्का लिन नपाउने भएका छन्। निर्माणस्थलमा भेटिँदैनन्‌ कामदार दुई बर्षमा काम सक्छु भन्दै पुल निर्माणको जिम्मा लिएको पप्पु कन्ट्रक्सनले अहिलेसम्म दुवैतर्फ पिल्लर मात्रै उठाएको छ। तर, निर्माण स्थलमा कामदार भेटिँदैनन्। ‘हामीले काम गरेको ठाउँमा मान्छे देख्दैनौँ,’ गण्डकी गाउँपालिकाका अध्यक्ष होमबहादुर रानाले भने ‘पुल बन्दै गरेको ठाउँमा खोज्दा न जिम्मेवार व्यक्ति भेटिन्छन्, न कर्मचारी। अनि कसरी, कहिले सकिन्छ कामरु’ गण्डकी गाउँपालिकाको भुम्लिचोक, मकैसिंङलगायत ठाउँ भएर आउजाउ गर्नेहरुलाई सास्ती भएको उनले बताए। थाहा खबरडटकमबाट