चीनमा कोरोना भाइरसबाट मर्नेको संख्या ५०० पुग्यो, हङकङमा १८ संक्रमित

चीनमा कोरोना भाइरसबाट मर्नेको संख्या ५०० पुग्यो, हङकङमा १८ संक्रमित

एजेन्सी  :    महामारीको रूप लिइरहेको कोरोना भाइरसबाट हङकङमा १८ जनामा संक्रमण भएका जनाइएको छ। विश्वभर त्रास फैलाएको कोरोना भाइरसका कारण हङकङ अस्पतालमा पनि एक व्यक्तिको मृत्यु भएको अस्पतालका प्रवक्ताले मंगलबार पुष्टि गरेका थिए।

हङकङका ती व्यक्तिलाई गत जनवरी ३१ मा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको थियो। उपचारका लागि प्रिन्स मार्गरेट अस्पतालमा भर्ना भएका उनको मंगलबार मृत्यु भएको थियो। यस्तै, फिलिपिन्समा पनि एकजनाको मृत्यु भएको छ।

कोरोना भाइरसका कारण चीनमा करिब ५०० जनाको ज्यान गएको छ। चीनको स्वास्थ्य मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार मृत्यु हुनेको संख्या ५०० पुगेको हो। चीनमा अहिलेसम्म कोरोना भाइरसबाट २४ हजार ३ सय २४ जना संक्रमित भएको बताइएको छ। तीमध्ये २३ हजार २ सय ६० जनामा भाइरस पुष्टि भएको छ।

अहिलेसम्म चीनमा २ लाख ५२ हजर १ सय २४ जनामा भाइरसको संक्रमणको शंका रहेको भन्दै १ लाख ८५ हजार ५ सय ५५ जना प्रत्यक्ष निगरानीमा रहेका छन्। नेपालसहित छिमेकी भारत र अन्य २४ देशमा यो भाइरसको संक्रमण भेटिएको छ।