मुद्दा चल्ने थाहा पाएपछि दिनभर कांग्रेस उपसभापति गच्छदारको दौडधुप, कहिले बालुवाटार, कहिले बूढानीलकण्ठ

काठमाडौँ : अख्तियारले मुद्दा दायर गर्ने संकेत पाएपछि कांग्रेस उपसभापति विजय गच्छदार बुधबार दौडधुपमा थिए । बिहान बालुवाटार पुगेर प्रधानमन्त्री केपी ओलीलाई भेटेका गच्छदारले दिउँसो कांग्रेस सभापति शेरबहादुर देउवालाई बूढानीलकण्ठमा भेटेका थिए ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार बिहान गच्छदारले प्रधानमन्त्रीलाई भेटेपछि सभापति देउवालाई पनि भेटेको जानकारी दिए । अख्तियारको मुद्दाकै प्रसंगमा यो भेट भएको हुन सक्ने शर्माको भनाइ छ । त्यसो त गच्छदारले बुधबार अपराह्न पनि देउवालाई भेटेका थिए । गच्छदारको सचिवालयका अनुसार उनी अपराह्न ४ देखि ६ बजेसम्म पुनः देउवानिवास बूढानीलकण्ठमा थिए ।
गच्छदारलाई मुद्दा लागेपछि कुनै समयको प्रभावशाली समूह ‘केजिबी’ अख्तियारको पकडमा परेको छ । ०४८ पछि खुमबहादुर खड्का, गोविन्दराज जोशी र विजय गच्छदारलाई ‘केजिबी’ समूहका रूपमा चिनिन्थ्यो र यो समूह कांग्रेसमा प्रभावशाली मानिन्थ्यो । अख्तियारकै मुद्दामा खुमबहादुर जेल बसे, गोविन्दराजको मुद्दा सर्वोच्चमा छ भने गच्छदारविरुद्ध पनि मुद्दा दायर भएको छ । योसँगै उनको सांसद पद निलम्बन भएको छ । ०४८ यता १२ पटक मन्त्री भएका गच्छदारविरुद्धको यो मुद्दा साबित भएमा १३ वर्षसम्म जेल बस्नुपर्नेछ ।
गच्छदार १९ माघ ०१० मा सुनसरीमा जन्मिएका हुन् । उनले ०२६ बाट कांग्रेसको राजनीति सुरु गरेका थिए । कांग्रेसबाटै पटकपटक मन्त्री हुने मौका पाएका उनी ०६४ मा कांग्रेस छोडेर मधेसी जनअधिकार फोरम प्रवेश गरेका थिए । ०६६ मा माधव नेपाल नेतृत्वको सरकारमा जानका लागि गच्छदारले पार्टी फुटाएर फोरम लोकतान्त्रिक गठन गरे ।
०७४ असोजमा कांग्रेस प्रवेश गरेका गच्छदार एक वर्षपछि उपसभापतिमा मनोनीत भए । उनी कांग्रेस संसदीय दलका उपनेता पनि हुन् । ०७४ मा भएको निर्वाचनमा उनी सुनसरी ३ बाट निर्वाचित भएका थिए । १० वर्षपछि कांग्रेस फर्किएका गच्छदारलाई २० कात्तिक ०७५ मा राजनीतिक निर्णयका आधारमा उपसभापतिमा मनोनीत गरिएको थियो । पार्टी विधानमा दुई उपसभापति नभए पनि राजनीतिक निर्णयका आधारमा उनी उपसभापति बनाइएका थिए । कांग्रेसमा गच्छदारको पदको टुंगो लागे पनि उनको पार्टीका अरू नेताको समायोजन टुंगिसकेको छैन । गच्छदार समूहलाई ११ केन्द्रीय सदस्य दिइएको छ । तर, गच्छदारले अझैसम्म नाम बुझाएका छैनन् । आजको नयाँपत्रिका दैनिकमा रमेश सापकोटाले
