कुवेतको ढुंगाखानीमा चार नेपाली मजदुरको मृत्यु, तीन बेपत्ता, तीन घाइते

कुवेतको  ढुंगाखानीमा चार नेपाली मजदुरको मृत्यु, तीन बेपत्ता, तीन घाइते

कुवेत :  अल मुतलाको हाउजिङ निर्माणस्थलमा बम पड्काएर ढुंगा फुटाउने क्रममा चार नेपालीको मृत्यु भएको छ। ३ जना हराइरहेका छन् भने ३ जना गम्भीर घाइते भएको अरबटाइम्सले जनाएको छ । वेपत्ता भएकाहरुको खोजी र उद्धार कार्य चलिरहेको छ। मजदुरहरु खाडलमा पसेर काम गरिरहेका बेला ढुंगा फुटाउन बम पड्काउँदा ठूलठूला ढुंगासहितको पहिरो आएर उनीहरुलाई पुरेको थियो। खाडलमा १३ नेपाली र एक भारतीय मजदुर रहेको बताइएपनि यकिन संख्या बाहिर आएको छैन।

निर्माणस्थलमा कार्यरत अन्य श्रमिकहरुले दुर्घटनास्थलको तस्वीर सामाजिक सञ्जालमा राखेपछि घटना बाहिर आएको हो। त्यहाँ कार्यरत मजदुरहरुको विस्तृत विवरण पनि सार्वजनिक गरिएको छैन। दुर्घटनालगत्तै आयोजनास्थल पुगेकी कुवेतकी आवास तथा निर्माण मन्त्री डाक्टर राना अल फारिसले दुर्घटनाको कारणबारे तत्काल छानवीन गर्न भन्दै ७ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएकी छन्।