नेपालीलाई स्वदेश फर्काउन आनाकानी : निर्बाध नेपाल आउँछन् चिनियाँ

काठमाडौं : चीनको वुहान सहरमा कोरोना भाइरस संक्रमणको जोखिममा रहेका नेपालीलाई स्वदेश फर्काउन आनाकानी गर्दै आएको सरकारले चिनियाँ पर्यटक भने दिनहुँ निर्बाध भित्र्याइरहेको छ ।
कोरोना भाइरस संक्रमणलगत्तै अमेरिका, क्यानडा, अस्ट्रेलिया र युरोपका अधिकांश मुलुकले चीनबाट सीधै प्रवेश गर्ने यात्रुलाई रोक लगाएका छन् ।
कतिपयले चीनमा निर्मित सामान आयातमै प्रतिबन्ध लगाएका छन् ।
चीन स्वयंले पनि प्रभावित प्रान्त हुपईमा आफ्नै नागरिक आवागमनमा रोक लगाएको छ ।
अन्य सहरमा पनि घरबाहिर ननिस्कन, हूलमूल नगर्न र मिलेसम्मका काम घरबाटै गर्न प्रोत्साहन गर्दै आएको छ ।
चीनका विभिन्न सहरबाट नेपालमा सातामा सय हाराहारीमा पर्यटक आउने गरेको विमान कम्पनीका सञ्चालकहरूले जनाएका छन् ।
कोरोना भाइरस संक्रमणका कारण नेपाल आउने चिनियाँ पर्यटकको संख्या ह्वात्तै घटे पनि आउने क्रम नरोकिएको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा दिनेश गौतमले लेखेका छन् ।
