अप्ठेरोमा प्रमओली पार्टीभित्र अल्पमतमा परेपछि नेपाललाई फकाउँदै

अप्ठेरोमा प्रमओली पार्टीभित्र अल्पमतमा परेपछि नेपाललाई फकाउँदै

काठमाडौं:  प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँग सम्बन्ध सुधारको प्रयास गरेका छन् ।

पछिल्लो पटक मंगलबार दिउँसो पनि ओली र नेपालबीच बालुवाटारमा दुई घण्टा छलफल भएको छ ।

बालुवाटार निकट स्रोतका अनुसार ओलीले नै नेपाललाई बोलाएर भेटघाट गरेका हुन् । बुधबार बिहान सचिवालय बैठक डाकिएको छ ।

सचिवालय बैठकको अघिल्लो दिन भएको भेटमा पार्टीभित्र देखिएको समस्या, संविधान संशोधन तथा गौतम निवासमा भएको भेलाबारे छलफल भएको थियो ।

प्रधानमन्त्री ओली सोमबार काठमाडौंबाहिर रहेका बेला पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालबीच पार्टी कार्यालयमा भेटघाट भएको थियो । त्यसकै भोलिपल्ट नेपाललाई ओलीले बालुवाटार बोलाएका हुन् ।

‘उहाँहरुबीच दिउँसो छलफल भएको थियो । पार्टी एकतापछि देखिएको समस्या, सरकार सञ्चालन र अन्य व्यक्तिगत विषयमा कुराकानी भएको छ’, बालुवाटारनिकट स्रोतले भन्यो ।

सचिवालय बैठकमा वरिष्ठ नेता नेपालकै संयोजकत्वमा संविधान संशोधन कार्यदल बनाउनेबारे छलफल भएको थियो । त्यसबेला प्रधानमन्त्री ओली र नेपाल दुवै मौन बसेका थिए ।

दुवै जनाले कुनै प्रतिक्रिया नदिएका बेला सो विषय बाहिर चुहिएपछि प्रचण्डले नेपालसँग भेटघाट गरेका थिए । त्यसपछि ओलीले नेपाललाई बोलाएर संविधान संशोधन र पुस २३ गते वामदेव गौतमको घरमा भएको भेलाबारे पनि छलफल गरेका हुन् ।

‘गौतमको घरमा भएको भेलापछि सचिवालय बैठकमा सधैं अल्पमतमा परेपछि ओलीले नेपालको साथ लिन खोजेको देखिन्छ’, ओली–नेपाल भेटपछि नेपालनिकट एक केन्द्रीय सदस्यले भने ।

संविधान संशोधनको विषय निकै जटिल भएकाले यसलाई बढी नै उचालियो कि भन्ने ओलीको धारणा रहेको र त्यसबारे नेपालसँग विस्तृत छलफल गरेको स्रोतको दाबी छ ।

गत भदौमा ओली र नेपालबीच विवाद भएपछि करिब तीन महिना बोलचाल नै बन्द भएको थियो । ओली स्वास्थ्यउपचारका लागि सिंगापुर जानुअघि बसेको सचिवालय बैठकमा उनीहरुबीच विवाद भएको थियो ।

पार्टीका हरेक निर्णयमा ओली हावी भएपछि पुस २३ गते गौतमको घरमा भएको भेलाले ओलीविरुद्ध मोर्चाबन्दी गर्ने निर्णय गरेको थियो । उक्त बैठकमा सचिवालय सदस्य ईश्वर पोखरेल र विष्णु पौडेलबाहेक अरु नेता सहभागी थिए ।

त्यसपछिका सचिवालय बैठकमा ओली कमजोर देखिएको आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले समाचार लेखेका छन् ।