अब देखि सिसी क्यामराको निगरानीमा आँबुखैरेनी बजार

अब देखि सिसी क्यामराको निगरानीमा आँबुखैरेनी बजार

आँबुखैरेनी :  तनहुँको आँबुखैरेनी बजारको निगरानी सिसी क्यामराबाट शुरु गरिएको छ । बजारको शान्ति सुरक्षालाई मध्यनजर गर्दै आँबुखैरेनी गाउँपालिका २ र ३ का विभिन्न स्थानमा सिसी क्यामरा जडान गरिएको हो ।

आँबुखैरेनी गाउँपालिका र तनहुँ उद्योग वाणिज्य सङ्घको सहयोगमा गत वर्ष मुख्य बजार क्षेत्रमा १७ वटा सिसी क्यामरा जडान गरिएकोमा यस वर्ष गाउँपालिकाकै सहयोगमा आँबुखैरेनी गाउँपालिका २ र ३ मा थप १२ क्यामरा जडान गरिएको छ । सिसी क्यामराको कन्ट्रोल रुम इलाका प्रहरी कार्यालय आँबुखैरेनीमा राखिएको छ ।

बजार क्षेत्रमा जडान गरिएको क्यामराले दुर्घटना न्यूनीकरण र शान्ति सुरक्षा कायम गर्न सहयोग पु¥याएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक वुद्धि सुवेदीले जानकारी दिनुभयो । प्रहरीले सिसी क्यामराको माध्यमबाट चौबिसैँ घण्टा राजमार्ग, मुख्यबजार र संवेदनशील क्षेत्रको निगरानी गरिरहेको जनाएको छ ।