कमल थापाले खाए पार्टी नफुटाउने कसम

काठमाडौं : आज बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बीचको पार्टी एकता घोषणा भएको छ । काठमाडौंको राष्ट्रियसभा गृहमा आयोजित औपचारिक कार्यक्रममार्फत दुई पार्टीबीच एकताको घोषणा गरिएको हो । शनिबार १० बुँदे सहमति गरेका दुई पार्टीले बुधबार पार्टी एकताको घोषणा गरे ।
राप्रपा अध्यक्ष कमल थापा, राप्रपा संयुक्तका अध्यक्षद्वय पशुपति शमशेर राणा र डा प्रकाशचन्द्र लोहनी, पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दलगायतका नेताहरुले राप्रपा औपचारिकरुपमा एक भएको उद्घोष गरे ।
दुई पार्टीबीच एकता घोषणा भएपछि एकीकृत पार्टीको नाम राप्रपा नै हुनेछ । पार्टीमा थापा, राणा र लोहनीगरी तीन अध्यक्ष हुनेछन् ।
यसैबीच कार्यकर्ताले भाँडभैलो मच्चाएपछि अध्यक्ष थापाले पार्टी फुट्न नदिने र नफुटाउने कसम खाएका छन् । उनले हातमा भागवत गीता लिएर पार्टी नफुटाउने र फुट्न नदिने कसम खाएका हुन् ।
