आज चट्याङ, मेघगर्जन र हावाहुरीसहित वर्षा, हिमपातको पनि सम्भावना

आज चट्याङ, मेघगर्जन र हावाहुरीसहित वर्षा, हिमपातको पनि सम्भावना

काठमाडौं :  मौसम पूर्वानुमान महाशाखाले आज केही स्थानमा मेघ गर्जन, चट्याङ, हावाहुरी र वर्षाको सम्भावना रहेको र केही स्थानमा हिमपात समेत हुने सम्भावना रहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले नेपालमा पश्चिमी वायुको प्रभाव परेको छ । हालको नेपालको मौसम भने पश्चिमी र मध्य क्षेत्रमा सामान्य बदली र बाँकी क्षेत्रमा आंशिक बदली भएको छ ।

यसैगरी, दिउँसो देशभरी नै सामान्य बदली हुनेछ । पश्चिमी तथा मध्य भू–भागका केही स्थानहरूमा र पूर्वी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङ्ग तथा हावाहुरी सहित बर्षाको सम्भावना रहेको छ । साथै देशको अधिकांश उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै, पूर्वानुमानका अनुसार राति भने देशभर नै सामान्यदेखि पूर्ण बदली रहनेछ।

यससँगै पश्चिमी भू–भाग लगायत मध्यका धेरै स्थानहरूमा र पूर्वी भू–भागका केही स्थानहरुमा मेघ गर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।