एकान्त

एकान्त

एकान्त यस्ताे समय रहेछ
जहाँ अनेक आविष्कार भएछ
एकान्तकाे कथा लम्बिदै गएछ
व्यास र गणेशकाे एकान्तले वेद र पुराण रचायाे
दुर्याेधन र सकुनीकाे एकान्तले पाण्डवकाे
उठिबास गरायाे
कैकेयी र मन्थराकाे एकान्तले रामकाे
वनबास बनायाे
एकान्त बहुत बलवान् रहेछ
जहाँ शासकलाई आफ्नाे विराेध मन पर्दैन
त्यहाँ जनतालाई एकान्तकाे अवसर नदिनू
जति मानिसले एकान्तकाे माैका पाउँछ
उति उसले विचारकाे आविष्कार गर्छ
भिडले छिचाेल्न नसकेका रहस्य
एकान्तले उघारिदिएकाे छ
एकान्तमै दरबार हत्याकाण्ड भयाे
एकान्तमै मदन भण्डारीकाे दुर्घटना भयाे
एकान्तमै सुशील काेइरालाकाे मृत्यु भयाे
एकान्तले नै काेराेना जन्मायाे
काेराेनाले अहिले एकान्तमा पठायाे
केपी र विद्याकाे एकान्तले
प्रचण्डलाई खुमलटारमा मिटिङ गर्न
एकाएक बाध्य बनायाे
र त एकान्त खतरनाक छ
शान्त अनि  आक्रान्त छ
ध्यान हुन्छ एकान्तमा
ज्ञान हुन्छ एकान्तमा
नाम हुन्छ एकान्तमा
बदनाम हुन्छ एकान्तमा
एकान्त एउटा विद्राेह हाे
एकान्त एउटा षड्यन्त्र हाे
पलायन पनि हाे एकान्त
अठाेट र सङ्कल्प पनि हाे
मायालु जाेडिकाे मिलन हाे एकान्त
विरहीकाे अाँसु बगाउने ठाउँ पनि
कविले कविता लेख्छ एकान्तमा
सङ्गीतकारले सङ्गीत सिर्जना गर्छ
दार्शनिक बनाउँछ एकान्तले
अत्यारी शासक पनि जन्माउँछ
निराेले बाँसुरी बजाउँछ एकान्तमा
हिटलर हुर्किन्छ एकान्तमा
हिटलर आत्महत्या गर्छ एकान्तमा
एकान्त भनेकाे एक्लाे हुनु हाे
एक्लाे हुनु भनेकाे
एक जना हुनु मात्र हाेइन
भिडमा पनि एक्लाे हुन्छ मान्छे
मैले एकान्त भाेगिरहेछु
मलाई एकान्तले भाेगिरहेछ
काेराेनाकाे कहर देखाएर सधैँ
एकान्तमै थुन्न चाहन्छ शासक मलाई
तर मैनबत्तीकाे शिखाझैँ
चम्किन चाहन्छु म एकान्तबाट…।।

 

कैलाश कोइराला
नेपाली काङ्ग्रेस चितवन जिल्ला उपसभापति