आमाको न्यानो काख (कविता)

” संसारभरीका सम्पूर्ण खुसीहरु आफ्नै न्यानो काखमा लुटपुटाएर भए भरका
दुख, दर्द र सन्तापहरुलाई आफ्नै साथमा राजीखुसीसँँग बिसाएर
एउटी नारी न्यानो काख भएर ममा आमा बनी उदाईन,
तनतन्ती आँशुहरु पिएर उनी ओठहरुमा मेरै खुसी भएर मुस्कुराईरहिन
प्रचण्ड वेग जस्तो घाउहरु सहेर मेरी आमा सदैब मेरै सिरानी भएर भरिलो ओत बनिन
छिन/छिनका सम्पूर्ण भोगाईहरुको एउटा जोसिलो साथ भईन
सम्पूर्ण खुसीहरु मेरै नाममा सहर्ष अर्पेर मेरी आमा
सधै /सधै मैले दुख बिसाउने
सधै/सधै मैले आश भेट्टाउने
पारिलो घाम जस्तो झलमल्ल उदाएकी न्यानो काख बनिन
बलिन्द्र अश्रुधार आँखाहरुमा सजाएर पनि
भक्कानिने ब्यथाहरुलाई मुटुभित्र लुकाएर पनि सधै/सधै परेलीमा मेरै खुसीको सगरमाथा बनेर चुलिरहिन
सधै/सधै हरेक उकाली र ओरालीमा मेरै सन्तु्ष्टिको मनकामना बनेर पूजित भईरहिन
मेरी आमा जहिले पनि जहा पनि
यही धरती जतिकै पबित्र बनिरहिन
सुभाषिलो महक छर्केर काँडाहरुसित पनि हाँस्ने गूँलाफ बनेर मुक्कुराईरहिन
जतिसुकै सन्तापहरु सहेर पनि मेरी आमा मेरै संसारको मानचित्र कोर्न उभिरहिन्
जतिसुकै आघातहरु ब्योहोरेर पनि मेरी आमा मेरै सिर्जनाको भूगोल उमार्न खोजिरहिन
कुनै पनि आमाले सन्तानहरुको सर्बनाश भोग्न चाहदैन
कुनै पनि आमाले सन्तानहरुको भग्नाबेश देख्न सक्दैन
म आज निर्धक्कसँँग मैले चुसेर डाँमेका मेरी आमाकी दुधालु लाम्टाहरु छोएर भन्न सक्छु
म आज निर्धक्कसँग मैले चिथोरेर थलाएका मेरी आमाकी दुखालु घाउहरु भोगेर भन्न सक्छु
आमाको न्यानो काख जतिको पबित्र कुनै धाम छैन संसारमा
आमाको न्यानो काख जतिको सत् चरित्र कुनै नाम छैन संसाारमा
आमाको न्यानो काख जतिको बिचित्र कुनै ठाम छैन संसारमा
सामाजिक अभियान्ता श्री राम बहादुर लामा
इच्छाकामना गा.पा वडा नं ५ मुग्लिङ चितवन
