खुट्टा तान

– तेजविलास ,चितवन
यो वेला
खुट्टा तान्ने वेला हो
नेतृत्व हत्याउन ।
यो वेला हो
अझ बलियो बन्न
अर्कालाई खुइल्याउने वेला हो ।
आफैं आफ्नो खुट्टामा
उभिन नसक्दा
अर्कोलाई दोष थुपारेर
आफैं विधिमा हिड्न छोडेर
अर्कालाई धारेहात लगाएर
जे- जे मन लाग्छ त्यही
गर्ने समय हो ।
ए! मित्र हो
यो एकले अर्काको
खुट्टा तान्ने समय हो ।
योजना आफैंसँग
नभएपछि
आफ्नो पछिलाग्ने
कम हुँदै गएपछि
यस्तो हुन्छ।
फेरि हत्याउन सत्ता ,
लट्पट्याउन सत्ता
नतानी हुँदैन खुट्टा,
नभरी हुँदैन फूलबुट्टा
भाषण त भाषण न हो
घोषणा त भुलाउन न हो ।
जे जे गर छोड्दै
एकाथरिलाई
डामेको साढे छोडे जस्तो
आ-आफैंमा खुट्टा तान।
ए!
प्रजातान्त्रवादी / लोकतान्त्रवादी
यो सुवर्ण अवसर हो ।
यो खुट्टा तान्ने समय
यो भित्र सखाप पार्ने
अभियान ।
त्यसैले
तान,
खुट्टा तान
सक्रियतापूर्वक
खुट्टा नतानी कसरी
आफूअगाडि गइएला र !
कसरी होला र
मनोकांक्षा पूरा ।
