जन्म दिनको अवसरमा युवा नेता उप्रेतीद्वारा विपन्न परिवारका लागि खाद्यान्न सहयोग

जन्म दिनको अवसरमा   युवा नेता उप्रेतीद्वारा विपन्न परिवारका लागि खाद्यान्न सहयोग

कुरिनटार,२० वैशाख । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) इच्छाकामना ४ का अध्यक्ष तथा कुरिनटार टोल विकास समितिको अध्यक्ष रुद्र प्रसाद उप्रेतीले आफ्नो जन्मदिनको अबसरमा लकडाउनबाट प्रभावित ज्यालादारी मजदुरका लागि खाद्यान्न सहयोग गर्नुभएको छ ।
शनिबार गाउँपालिका मार्फत वडा नम्बर ४ का अतिविपन्न मजदुर परिवारका लागि रु.३३ हजार ८५० रुपैयाँ बराबरको खाद्यान्न सहयोग गर्नुभएको हो ।
६०० केजी चामल, ६० पोका नुन र ६० पोका तेल अध्यक्ष उप्रेतीले गाउँपालिकाकी प्रवक्ता सावित्रि गुरुङ,वडा सदस्यहरु विदुर सिलवाल र बाबुकाजी त्रिपाठीलाई हस्तान्तरण गर्नुभयो ।

जन्मदिनको अवसरमा लकडाउनका कारण अप्ठ्यारोमा परेका विपन्न मजदुर परिवारका लागि सहयोग गर्नुभएकोमा प्रवक्ता  गाउँपालिका सावित्रि गुरुङले धन्यावाद दिनुभयो ।प्रवक्ता गुरुङले इच्छाकामना गाउँपालिकाका जनताले भोकै बस्नु पर्ने दिन आउन नदिने बताउनुभयो ।   साथै उप्रेतीलाई जन्मदिनको शुभकामना पनि दिनुभयो ।
नेकपाका चितवनका जिल्ला सचिवालय सदस्य तथा इच्छाकामनाका इन्चार्ज प्रताप गुरुङले अहिले कोरोना रोकथामका लागि सरकारले लागु गरेको लकडाउनका कारण दैनिक ज्यालादारी मजदुरी गरेर जिवन निर्वाह गर्दै आएका परिवारहरुका लागि जति सक्दो चाडोँ राहत उपलब्ध गराउनु पर्ने बताउनुभयो ।
उहाँले अहिलेको विषम परिस्थितिमा नेकपा इच्छाकामनाले केही सहयोग गरेको र अझै पनि सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । केन्द्र सरकारको निर्देशन बमोजिम गाउँपालिका मार्फत एकद्धार प्रणालीमा राहत हस्तान्तरण गर्न पनि सबै सहयोगी मनहरुलाई आग्रह गर्नुभयो ।