कोरोनाको बारे अध्यन गरिरहेका चिनियाँ प्राध्यापकको अमेरिकामा गोलि हानी हत्या

कोरोनाको बारे अध्यन गरिरहेका चिनियाँ प्राध्यापकको अमेरिकामा गोलि हानी हत्या

कोरोना भाइरस (कोभिड–१९) को विषयमा अध्ययन गरिररहेका चिनियाँ प्राध्यापक बिङ लीको अमेरिकामा गोली हानी हत्या भएको छ । युनिभर्सिटी अफ पिट्सबर्गको स्कुल अफ मेडिसिन विभागका सहायक प्राध्यापक रहेका ३७ वर्षीय ली शनिबार आफ्नै घरमा मृत भेटिएका थिए ।

स्थानीय प्रहरीका अनुसार एक बिङ लीको टाउको, छाती, हात खुट्टा र गर्दनमा गोली लागेको छ । प्रहरीका अनुसार ४६ वर्षीय सफ्टवेयर इन्जिनियर हाउ गुले उनको गोली हानी हत्या गरेका हुन् । तर, हत्या गरेपछि उनले पनि आत्महत्या गरेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार बिङ ली र हाउ गु मिल्ने साथी थिए । उनले बिङको हत्या गरेर फर्किँदा हाउ गुले कारमा आत्महत्या गरेका हुन् ।

बिङसँग काम गरिरहेका मानिसहरुका अनुसार बिङ कोभिड–१९ को विषयमा निकै महत्वपूर्ण खोजको नजिक पुगेका थिए । यस्तो अवस्थामा उनको हत्या भएको हो । बिङ लीले सिंगापुरमा स्नातक र पीएचडीसम्मको अध्ययन गरेर अनुसन्धानको लागि अमेरिका गएका थिए ।

यससँगै सामाजिक सञ्जालमा यस विषयमा विभिन्न अफवाह फैलिएका छन् । बिङ लीको जनाजान अमेरिकामा हत्या गरिएको समाचार फैलिएका छन् । चिनियाँ सामाजिक सञ्जाल वीबोका एक प्रयोगकर्ताले बिङ ली अमेरिकाको प्रयोगशालामा कोरोना भाइरस निस्किएको भन्ने पत्ता लगाउने नजिक पुगेको कारण उनको हत्या गरिएको बताएका छन् । यसअघि चिनियाँ अधिकारी र सरकारी सञ्चारमाध्यमले अमेरिकी सेनाले कोरोना भाइरस वुहानमा ल्याएर छाडेको आरोप लगाएका थिए ।

साथै धेरैले अमेरिकामा चिनियाँ नागरिकको सुरक्षाको विषयमा प्रश्न उठाएका छन् भने केहीले यो विषय निकै रहस्यमयी भएको बताएका छन् । जाँचकर्ताहरुले भने अहिलेसम्म बिङ लीको हत्याको सम्बन्ध कोभिड–१९ को अध्ययनसँग जोडिएको कुनै प्रमाण फेला नपरेको बताएका छन् ।

स्रोत : बीबीसी