बेनिघाट रोराङमा राष्ट्रवादी युवा समूह चरौदी द्वारा भारतीय हस्तक्षेप विरुद्ध विरोध प्रदर्शन

बेनिघाट रोराङमा राष्ट्रवादी युवा समूह चरौदी द्वारा भारतीय हस्तक्षेप विरुद्ध विरोध प्रदर्शन

धादिङ : गत शुक्रवार भारतले नेपालको पश्चिम सीमा क्षेत्रस्थित नेपाली भूमिमा भारत र चीन जोड्ने सडक उद्घाटन गरेपछि  नेपाल भर चर्को बिरोध भईरहेको छ । हस्तक्षेपबिरुद्द नेपालमा दिनहुजसो प्रदर्शन पनि भइरहेका छन् । त्यसै क्रममा धादिङको बेनिघाट रोराङ गाउँपालिकामा राष्ट्रबादी युवा समुह चरौँदीद्धारा प्रदर्शन गरिएको छ ।

कालापानी हाम्रो हो, लिपुलेक हाम्रो हो, भारतिय बिस्तारवाद मुर्दावादको नारा लगाउँदै भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाईएको छ । प्रदर्शनमा बालकदेखि बृद्धसम्मको उपस्थिती थियो । राष्ट्रबादी युवा समुह चरौँदीले भुमी हस्तक्षेप विरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेको हो ।

विरोध प्रर्दशनमा सहभागीहरुले नेपाली भुमि फिर्ता गर्न माग गर्दै सरकारले छिटोभन्दा छिटो कुटनितिक तथा राजनितीक तवरबाट पहल गर्नुपर्ने बताएका थिए । उनीहरुले राष्ट्रवादको आडमा सत्तामा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा विवादमा ठोस काम गर्न नसकेको आरोप पनि लगाएका थिए ।

सीमा मिच्ने प्रवित्तिको चर्को विरोध गर्दै उनीहरुले अब नेपाली जनताले आफ्नो मातृभुमी रक्षाको लागि जस्तोसुकै परिस्थितीको पनि सामना गर्ने बताएका थिए । नेपालको भूमि एक इन्च पनि मिच्न नदिने र अरुको पनि एक ईन्च भुमी नमिच्ने भन्दै राष्ट्रियताको मुद्धामा सबै एकै ठाउँमा उभिन आग्रह गर्दै आन्दोलनमा सहभागी हरुको भनाइ रहेको थियो । उनीहरुले ‘गो ब्याक इन्डिया’, ‘लिपुलेक र कालापानी हाम्रै हो’, ‘नेपालको भूमि मिच्न दिँदैनौँ’ लगायतका नारा पनि लगाएका थिए ।