कोरोना सङ्क्रमणविरुद्ध जनचेतना फैलाउँदै इच्छाकामनाका हेमलाल श्रेष्ठ

कोरोना सङ्क्रमणविरुद्ध जनचेतना फैलाउँदै इच्छाकामनाका हेमलाल श्रेष्ठ

हीरालाल गुरुङ
मुग्लिन :  “म बचे हाम्रो परिवार बच्छ, परिवार बचे पो समाज बच्छ” भन्दै एक युवक कोरोनाविरुद्ध मैदानमा ओर्लिएका छन् । जनतालाई घर–घरमा बस्न भनेर कोरोनाविरुद्ध सचेतना फैलाउँदै हिँड्ने ती युवक हुन्, चितवनको इच्छाकामना– ५ शान्ति बजारका हेमलाल श्रेष्ठ ।

उहाँ बिहानदेखि बेलुकासम्म विभिन्न स्थानमा पुगेर कोरोना सङ्क्रमणविरुद्ध सचेतना जगाउने कार्यमा खटिरहेका छन् । बिहीबार बिहान मुग्लिन बजारमा माइकिङ गर्दै एक्कासि एउटा पल्सर बाइक देखाप¥यो । घरमै बसेर कोरोनासम्बन्धी जानकारी माइकिङबाट सुन्न पाएपछि स्थानीयवासी दङ्ग परे । माइकिङमा कोरोना सङ्क्रमणबारे जनचेतनामूलक सूचना सन्देश प्रसारण भइरहेको थियो । यो सुनेर स्थानीयवासी घरबाटै कोही चाख मानेर सुनिरहेका थिए भने कोही अचम्म मानेर हेरिरहेका थिए ।

श्रेष्ठले बिहीबार दिनभर आफ्नै व्यक्तिगत खर्चमा चितवनको इच्छाकामना गाउँपालिकाभित्रका राजमार्गका मुख्य क्षेत्र रिग्दीखोलादेखि मौवाखोलासम्मका सम्पूर्ण राजमार्ग र भित्री सडकका साथै तनहुँको आँबुखैरेनी गाउँपालिका–४ का पुलजीप, अन्नपूर्ण, बेनिटार, शाखरलगायत क्षेत्रमा कोरोना भाइरसविरुद्ध जनचेतनामूलक सूचना सन्देश प्रसारण गर्दै माइकिङ गर्नुभएको थियो । अहिले उहाँको यो कार्यको चौतर्फी प्रशंसा भएको छ ।

कोरोना भाइरसबारे मानिस सचेत हुनुको सट्टा झन भीडभाड गर्दै असावधानी अपनाउन थालेकाले आफूले समाजमा चेतना फैलाउनका लागि सानो प्रयास गरेको श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “समाजलाई कोरोना सङ्क्रमणबारे धेरथोर चेतना जगाउन सकिन्छ भनेर मैले यो काम गरेको हुँ, भीडभाड नहुने गरी लकडाउनमा रहेका नागरिकलाई घरमै बस्नका लागि कोरोनासम्बन्धी सचेतना पु¥याउने प्रयत्न मेरो हो ।”

“हामीले माइकिङ्ग गरेर जनचेतना फैलाइरहेका छौं”, श्रेष्ठले भन्नुभयो, “धेरै मानिस भिडभाड हुन नदिनका लागि लकडाउन पालन गर्न सूचनाहरु प्रवाह गरिरहेका छौं ।” “अरूलाई घरभित्र बस्नुस् भन्दै कोरोना रोकथामका लागि मैदानमा आएका छौं”, उहाँले भन्नुभयो, “अहिलेको मुख्य काम सङ्क्रमणबाट आम नागरिकलाई बचाउनु हो । यसैका लागि जोखिम मोलेर काम गरिरहेका छौं ।” गाउँपालिकालाई जानकारी गराएर आफैँले व्यक्तिगतरुपमा खर्च गरी माइकिङ गरिएको उहाँको भनाइ छ ।

श्रेष्ठले गरेको यो कामको प्रशंसा गर्दै निःस्वार्थरुपमा जनतामा चेतना फैलाउने काम गरेकामा इच्छाकामना गाउँपालिका उपाध्यक्ष कृतिकुमार श्रेष्ठले धन्यवाद दिनुभयो । कोरोनाविरुद्ध लड्न सबै नागरिकले आ–आफ्नो तर्फबाट सकेको सहयोग गर्नुपर्ने उहाँको भनाइ छ ।

चितवनको इच्छाकामना–५ मा रहेको शान्ति बजार टोल विकास संस्थाका अध्यक्षसमेत रहनुभएका हेमलाल श्रेष्ठ गाडी चालक पनि हुनुहुन्छ । कुनैबेला गाडी चलाउँदै गर्दा सडकमा बोरामा पैसा भेटाएर प्रहरीमार्फत पैसा धनीलाई बुझाई इमान्दारितासमेत प्रस्तुत गर्नुभएका श्रेष्ठको त्यसबेला पनि निकै चर्चा भएको थियो ।रासस