चोरीमा संलग्नलाई कारवाहीबारे भ.मा.न.पा अझै अनिर्णित, ने.का का जोशी भन्छन् “यो काँग्रेसको मात्र सवाल होईन यो महानगरको प्रतिष्ठाको कुरा पनि हो”

चोरीमा संलग्नलाई कारवाहीबारे भ.मा.न.पा अझै अनिर्णित, ने.का का जोशी भन्छन् “यो काँग्रेसको मात्र सवाल होईन यो महानगरको प्रतिष्ठाको कुरा पनि हो”

भरतपुर: भरतपुर महानगरपालिकाको पहलमा स्थापित कोरोना बिषेष अस्पतालमा भएको चोरीमा संलग्नहरुलाई कारवाही गर्नेबारेमा भरतपुर महानगर अनिर्णयको वन्दी भएको छ । घटना भएको यतिका समय भईसक्दा समेत महानगरले चोरीमा संलग्न कर्मचारीहरुलाई निलम्वन समेत गरेको छैन ।

सो चोरी प्रकरणमा संलग्नलाइ कारवाही गर्न मिल्ने नमिल्ने भनि राय पेश गर्न बनेको उपमेयर पार्वती शाहको नेतृत्वको समितिले आफ्नो राय प्रतिवेदनमा उनिहरुलाई तत्काल निलम्वन गर्नुपर्ने राय पेश गरेपनि सो बारेमा कुनै निर्णय हुन नसकेको हो । सोमबार सो प्रतिवेदनका बारेमा छलफल गर्न बसेको बैठक विना निष्कर्ष टुङ्गिएको बैठकमा सहभागी वडा नम्बर २१ का वडाध्यक्ष चित्रसेन अधिकारीले बताए । बैठकमा नगरप्रमुख , उपप्रमुख , प्रमुख प्रशासकिय अधिकृत सहित ९ जना सहभागी थिए । अधिकारीले भने,“ बैठकमा सबै आफ्नो आफ्नो अडानमा भएपछि निर्णय हुन सकेन ।” इच्छाखवर सगँ कुराकानीका क्रममा अधिकारीले भने,“ प्रतिवेदनमा प्रष्ट संग उनिहरुलाई निलम्वन गर्नुपर्ने र महानगरको तर्फबाट प्रहरीमा जाहेरी दिनुपर्ने बिषय उल्लेख छ ।” “राय दिन समिति बनाउने अनि रायको आधारमा अघि नबढ्ने दोहोरो चरित्र देखियो” अधिकारीले भने ।

चोरीमा संलग्नलाइ कारवाही गर्ने र जोगाउने बारेमा अहिले काँग्रेस र नेकपा बिच रस्साकस्सी चलेको छ । यसले गर्दा कोरोना अस्पताल चोरी प्रकरण ओझेलमा पर्दै गएको महानगवासीहरुले महसुस गरेका छन् । घटनामा संलग्लाई तत्काल कारवाही गर्न माग गर्दे नेपाली काँग्रेस र उसका भातृसस्थाले ज्ञापन पत्र बुझाउने लगायत सडक प्रर्दशन समेत गरेपनि अहिले सम्म त्यसबारेमा कुनै प्रक्रिया अगाडी बढेको छैन । नेपाली काँग्रेस चितवनका सचिव उत्तम जोशी चोरीमा संलग्नहरु खुलेआम बाहिर हिड्ने र काममा गएको देखेर आफु आश्चर्यमा परेको बताउँछन् । उनले भने,“यो काँग्रेसको मात्र सवाल होईन , यो महानगरको प्रतिष्ठाको कुरा पनि हो । चोरीमा संलग्नलाई कारवाही नहुँदा त्यसले अरुको मनोवल गिर्छ ।” महानगरले तत्काल यसबारेमा ठोस निर्णय लिन आबश्यक भएको उनले बताए ।

सो प्रकरणको उपमेयर शाह नेतृत्वकोे समितिले तयार पारेको राय प्रतिवेदनमा भनिएको छ ,“निजामती सेवा ऐन २०४९ को दफा ६४ एवम् निजामती सेवाका कर्मचारीहरुको आचरण सम्बन्धी नियमावली २०६५ बमोजिम प्रमुख प्रशाशकीय अधिकृतबाट खराव आचरणका कर्मचारीलाई निलम्वन गर्न सुक्ने व्यवस्था भएकाले चोरीमा संलग्न कर्मचारीहरुलाइ निलम्वन गरि निष्पक्ष अनुसन्धानको वातावरण बनाउन आबश्यक छ । ” त्यस्तै सोहि प्रतिदेवनमा “नेपालको संबिधानको भाग १७ र प्रचलित कानुन बमोजिम भरतपुर महानगरपालिका नगरकार्यपालिकाको तर्फबाट उक्त घटनामा संलग्न व्यक्ती उपर आबश्यक अनुसन्धान गरि कानुन बमोजिम कारवाहीका सम्बन्धित निकायमा उजुरी दिन सकिनेछ ।” प्रतिवेदनमा भनिएको छ ।

सोमबार सोहि बारेमा छलफल गर्न बसेको बैठकले कुनै निर्णय लिन नसकेको हो । चोरीमा संलग्न कर्मचारीमाथी कुनै कारवाही नहुँदा यसले महानगरको साख गिरेको अधिकारीले बताए ।

बैठकमा सहभागी भरतपुर महानगरपालिका प्रवक्ता अरुणपिडित भण्डारीले सो बारेमा सोमबार कुनै निर्णय नभएपनि छलफलकै क्रममा रहेको बताए । उनले भने,“उपमेयरको नेतृत्वमा ४ सदस्यीय राय पेश गर्ने समिति बनेको हो , तर फरक फरक रायहरु आएका छन् । त्यही भएर हामी छलफलकै क्रममा छौं ।” उनले अख्तियारले हात हालिसकेको बिषय भएको हुनाले तत्काल ति कर्मचारीहरुलाई निलम्वन गर्न नमिल्ने बताए । “यसमा जिल्ला प्रशासनले छानविन गरिरहेको छ , अख्तियारले हेरेको छ , महानगरले केहि गर्न मिल्दैन।” भण्डारीले भने । भण्डारीका अनुसार महानगरका कानुनी सल्लाहाकार र कानुन अधिकृतको प्रतिवेदन र शाहले बुझाएको प्रतिवेदन फरक फरक छ ।