कविता- कोरा आदर्श

कविता- कोरा आदर्श


कोरा आदर्श

मैले सिकेको
कोरा आदर्श
चिप्लदो छ ब्यवहारमा
मैले घोकेको सहिष्णुता
बदलिँदो छ द्वेषमा
खै!
म कस्तो यात्रामा ?
भन्न त म
गणतन्त्रको सिपाही
समानताको प्रवक्ता
न्यायको प्रतिमुर्ति
भनिरहेछु आफूलाई
मेरो कोरा शिक्षा
ब्यवहारमा आउना साथै
अपराधमा बदलिन खोज्छ।

म मान्छे ?
सबैलाई समाप्त पारेर
सबैको प्रतिनिधि बन्न
औताइरहेको
मेरो मान्छे
टोलाइरहेको रमिते बनेर
बौलाइरहेछ विद्रोही बनेर
थेग्दैन मेरो ज्ञानले
ब्यवहारको यात्रा
धान्दैन मेरो विवेकले
सुल्ट्याउनु पर्ने यात्रा
खै!
म कस्तो मान्छे ?
असरल्लै छ प्रश्नहरु
प्रश्नलाई प्रतिप्रश्न्नले
छोप्दै अनि
बन्दै बाचाल
म जति नै गरौं
सस्कारको मन्त्र जप
कु-सस्कार
शासन गरिरहेछ
म माथि
म आफैं
लाजले
रातो भैरहेको छु
म कस्तो मान्छे ?
बर्बरताको सीमा हुदैन
मानवताको विषय त
डलरको सुती खेती जस्तो
मैले आर्जन जानेको ज्ञान
मैले सिकेको सीप
केवल
आडम्बरमा मात्र
शमनका निम्ति होइन
उल्झनका निम्ति मात्र
मेरो आदर्श
खस्केको दिनानुदिन
म को घमण्ड ।

लेखक तेजविलास