कोरोनाबाट मृत्यु हुनेको संख्या १० पुग्यो, २ हजार ६ सय ३४ जना संक्रमित

कोरोनाबाट मृत्यु हुनेको संख्या १० पुग्यो, २ हजार ६ सय ३४ जना संक्रमित

काठमाडौँ, २२ जेठ । आज एकैदिन नेपालमा ३३४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता विकास देवकोटाले पछिल्लो २४ घण्टामा मोरङका १, पर्साका १, झापाका ५, ताप्लेजुङका १, सुनसरीका १, सप्तरीका १३, बाराका १२, सिन्धुलीका १, रौतहटका १, म्याग्दीका १, बाग्लुङका १०, पर्वतका ४,स्याङ्जाका १, बाँकेका ४२, कपिलवस्तुका २९, दाङका १५, मुगुका १, दैलेखका ११३, खोटाङका ३, धनुषा ६, महोत्तरी ३, रौतहट ६४, सर्लाहीका ३ गरी ३३४ कोरोना संक्रमित थपिएका जानकारी दिए।

योसँगै नेपालमा संक्रमित संख्या २ हजार ६ सय ३४ पुगेको छ। तीमध्ये २९० जना उपचारपछि डिस्चार्ज भएका छन् भने १० जनाको मृत्यु भएको छ। पाल्पाको पूर्वखोला गाँउपालिका १ सिलुवाका ४० बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको थियो । उनको पाल्पाको मिसन अस्पतालको आइसोलेसन कक्षमा तीन दिनअघि मृत्यु भएको थियो ।

पूर्वखोला –२ जल्पा क्वारेन्टाइनमा रहेका उनलाई स्वास्थ्यमा समस्या भएपछि तानसेनस्थित मिसन अस्पताल पुर्‍याइएको थियो । मृत्युपछि उनको स्वाब परीक्षणका लागि भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।

पछिल्लो समय भारतबाट आएका मानिसहरूमा परीक्षण बढाउँदा संक्रमितको संख्या बढ्दै गइरहेको छ।

उनका अनुसार अहिले देशभरि १ लाख ६१ हजार २ सय ६२ मानिस क्वारेन्टिनमा छन्। बिहीबारसम्म ८४ हजारभन्दा बढीको पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको छ।