रामराज्य हुनेछ (कविता)

देशका नाममा
प्रवचन दिइरहेछ शासक–
रामराज्य हुनेछ अब रामराज्य
जहाँ रामहरूले मात्र गर्नेछन् राज्य
र मारिनेछन् शम्बुकहरू
मारिनेछन् रहिम र भन्तेहरू
रामको मात्र हुनेछ बडे बडे मन्दिर
मनाइनेछ मात्र राम नवमी
मनाइनेछ मात्र राम जानकी विवाह
भत्काइनेछ त्यो घर
जहाँ हुनेछैन रामको तस्वीर
जताततै हुनेछन् रामहरू मात्रै
सबैले आफ्नो नाम फेरेर राम राखून्
सबै युवतीले नाम फेरेर जानकी राखून्
रामले जानकी
र जानकीले रामलाई मात्र गर्न पाउनेछन् प्रेम
बाँकी अछुत प्रेमलाई
मृत्युदण्ड दिइनेछ कुटीकुटी ढुङ्गाले हानेर
वर्जितहरूले नदेख्नु प्रेमको सपना
अब हुनेछ रामराज्य
रामबाहेक सबैलाई पठाइनेछ वनबास
गाउनु पर्नेछ रामभजन
नाच्न पाइनेछ केवल रामलीला
हरेकको वस्त्र हुनेछ रामको जस्तै
खारेज गरिनेछ बाँकी पहिरनलाई
बोल्नु पर्नेछ संस्कृतमा–
रामः स्वभावेन दयालुः अस्ति
हनुमान, सुग्रिव र जम्बावन भालु मात्र हुनेछन् समूहमा
मारिनेछन् बालीहरू
राष्ट्रिय पंक्षी हुनेछ जटायू
बाँकी चरालाई थुनिनेछ पिंजडामा
या वञ्चरो चलाएर ढालिनेछ तिनको बासस्थान
तिनका अण्डाहरू खुवाइनेछ साँपलाई
चोक चोकमा उभ्याइएका
सहिदका सालिक ढालेर
प्रतिस्थापन गरिनेछ भानुभक्त या वाल्मिकीको सालिक
देशको राजगुरु हुनेछन् रामदेव
हर निर्माणको ढुङ्गामा कुँद्नु पर्नेछ राम नाम
देशको अमन चैन र समृद्धिका लागि
आयोजना गरिनेछ अश्वमेध यज्ञ
राम स्वयम्ले पठाउनेछन् सुनका मृगहरू
र कुदाइनेछ भोका मानिसलाई
भ्रम–मृगको पछिपछि
जति नै तेज भएपनि
जति नै सिर्जनशील भएपनि
जित्न पाइनेछैन रामहरूलाई
हार्नै पर्छ घलेहरू
हार्नै पर्छ श्रीजङ्गाहरू
वशिष्ठ गुरुले दिनेछन् रामहरूलाई मात्र शिक्षा
रामको मात्र लेखिनेछ इतिहास
दाइजो नल्याउने बुहारीलाई सुपर्णखा मानेर
काटिनेछ नाक र कान
जिउँदै जलाइनेछ आगोमा
बलात्कार र हत्याको चक्कर चलाएपनि
रामहरूलाई छुने छैन कुनै कानुनले
औँला ठडाउन पाइनेछैन रामविरुद्ध
रामका विरोधीलाई रावण ठानेर
गरिनेछ वध
देशका नाममा
प्रवचन दिइरहेछ शासक –
रामराज्य हुनेछ अब रामराज्य ।
केशव सिलवाल
