राष्ट्र बैंकले मौद्रिक व्यवस्थापन अन्तर्गत बैंकिङ क्षेत्रको तरलतालाई कसरी व्यवस्थापन गर्छ ?

राष्ट्र बैंकले मौद्रिक व्यवस्थापन अन्तर्गत बैंकिङ क्षेत्रको तरलतालाई कसरी व्यवस्थापन गर्छ ?

मौद्रिक नीति कार्यान्वयनको लागि गरिने मौद्रिक व्यवस्थापनको कार्य अन्तर्गत प्रमुख रूपमा बैंकिङ क्षेत्रको तरलतालाई अधिक वा न्यून हुन नदिने रहेको हुन्छ । तरलता न्यून भएको वा तरलताको अभाव रहेको अवस्थामा ब्याजदर बढ्ने, लगानीको लागि यथेष्ट रकमको अभाव हुने, कर्जाको ब्याजदर उच्च हुँदा उत्पादन लागत बढ्ने, यसले मुद्रास्फीति बढाउने र लगानी निरूत्साहित हुने अवस्था आउँदछ ।

अर्कोतर्फ बजारमा अधिक तरलताको अवस्था हुँदा ब्याजदरहरू न्यून स्तरमा झर्ने, यसबाट बचत प्रोत्साहित नहुने, उपभोग बढ्ने, माग बढ्न जाँदा त्यसले मुद्रास्फीति बढ्न सक्ने, न्यून ब्याजदरको कारण कमसल परियोजनाहरूमा कर्जा प्रवाह हुन सक्ने, पूँजी पलायन हुने जस्ता समस्या देखा पर्न सक्दछन् । यस कुरालाई ध्यानमा राखी मौद्रिक नीतिको कार्यान्वयनको सिलसिलामा खुला बजार कारोबारद्वारा तरलता व्यवस्थापन गरिन्छ ।

तरलता व्यवस्थापनको कार्य नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागले तयार गर्ने “तरलता अनुगमन तथा प्रक्षेपण संरचना ९ीःँँ०” ले इङ्गित गरे अनुसार बैंकिङ प्रणालीमा अधिक तरलता भए प्रशोचन गर्ने र न्यून तरलता भए प्रवाह गर्ने कार्य खुला बजार कारोबार सञ्चालन समितिको निर्णयानुसार “नेपाल राष्ट्र बैंक खुला बजार कारोबार विनियमावली, २०७१” बमोजिम राष्ट्र ऋण व्यवस्थापन विभागबाट हुँदैआएको छ ।

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तरलता अधिक भएको अवस्थामा प्रशोचन गर्ने उपकरण प्रयोग गरी बोलकर्ताको यस बैंकमा रहेको खाता खर्च गरी रकम लिने र तरलता न्यून हुँदा प्रवाह गर्ने उपकरण प्रयोग गरी सोही खातामा रकम जम्मा गरी दिने व्यवस्था छ । तरलता प्रशोचन गर्ने क्रममा जम्मा हुन आउने रकम नेपाल राष्ट्र बैंकले अन्य कार्यमा प्रयोग गर्न पाउँदैन ।

तरलता व्यवस्थापनमा प्रयोग गरिने उपकरणहरू निम्न बमोजिम रहेका छन्।
क. रिपो
ख. रिभर्स रिपो
ग. सोझै बिक्री
घ. सोझै खरिद
ङ. निक्षेप संकलन
च. नेपाल राष्ट्र बैंक ऋणपत्र

तरलता प्रशोचनको लागि रिभर्स रिपो, सोझै बिक्री, निक्षेप संकलन र नेपाल राष्ट्र बैंक ऋणपत्रको प्रयोग गरिन्छ भने तरलता प्रवाहको निम्ति रिपो र सोझै खरिद उपकरणको प्रयोग गरिन्छ ।

रिपो तथा रिभर्स रिपो उपकरणको बोलकबोल तथा निष्कासन आवश्यकतानुसार प्रत्येक हप्ताको बुधवार हुने गर्दछ । रिपो तथा रिभर्स रिपो एकैपटक निष्कासन हुँदैनन् । यी उपकरणहरू तरलताको अवस्थानुसार निष्कासन हुने गर्दछन् । रिपो तथा रिभर्स रिपो बाहेक अन्य उपकरणहरू ९सोझै बिक्री, सोझै खरिद, निक्षेप संकलन, नेपाल राष्ट्र बैंक ऋणपत्र० को बोलकबोल तथा निष्कासन खुला बजार कारोबार सञ्चालन समितिको निर्णयानुसार तोकिएको दिनमा हुने गर्दछ ।

श्रोतः नेपाल राष्ट्र बैंकबाट प्रकाशित भएको सरकारी ऋणपत्र, मौद्रिक उपकरण तथा अनलाइन बातेलकबोल सम्बन्धी जानकारी पुस्तिका