मायाटार दुम्किममा स्वास्थ्यचौकी भवन निर्माण कार्य सुरु

मायाटार दुम्किममा स्वास्थ्यचौकी भवन निर्माण कार्य सुरु

इच्छाकामना: २९ जेठ, चितवनको इच्छाकमना गाउँपालिका वडा नम्बर २ मायाटार दुम्किममा स्वास्थ्यचौकी भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिकाको विकट बस्तीमा रहेको वडा नम्बर २ मै पहिलो पटक निर्माण कार्य सुरु गरिएको उक्त भवनको गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङ र उपाध्यक्ष कृतिकुमार श्रेष्ठले संयुक्तरुपमा शिलान्यास गर्नुभएको हो । शिलान्यास कार्यक्रममा वडा सदस्य माया गुरुङ सहित स्थानियहरुको उपस्थित रहेका थिए ।

जिल्ला समन्वय समिति चितवनबाट प्राप्त रु १५ लाख र गाउँपालिकाको रु १० लाख सहित २५ लाख बजेट विनियोजन भई भवन निर्माण कार्य शुरु गरिएको अध्यक्ष गीताकुमारी गुरुङले इच्छाखबर लाई जानकारी दिनुभयो । उहाँका अनुसार एक बर्ष भित्र भवन निर्माण सम्पन्न गरि ४ जना स्वास्थ्यकर्मी सहितको कर्मचारी रहने गरि सेवा संचालन गरिने छ । सुविधा सम्पन्न भवन निर्माण गरिने भएकाले गाउँपालिकाले थप आवश्यक बजेट विनियोजन गरिने अध्यक्ष गुरुङले बताउनुभयो ।

यसैबिच वडा नम्बर २ कै तल्लो काउलेमा पनि सामुदायिक स्वास्थ्य इकाइको कार्यालयका लागि भवन निर्माणका लागि डिपिआर सुरु गरिएको छ । साथै वडा नम्बर १ मा रहेको स्वास्थ्यचौकीकामा अत्यधुनिक भवन निर्माण गरिने छ भने
वडा नम्बर ३ मा रहेको स्वास्थ्य इकाइको पनि भवन निर्माण हुदैँ छ । वडा नम्बर ७ स्याङ्दीमा रहेको सामुदायिक स्वास्थ्य एकाइलाई प्रशुती गृहको रुपमा विकास गर्न भवन निर्माण गरिने पनि उहाँले बताउनुभयो ।

यसैबिच गाउँपालिकाको सबै वडामा अहिले सामुदायिक स्वास्थ्य इकाई संचालनमा आएको अध्यक्ष गुरुङले बताउनुभयो । उहाँका अनुसार जनसंख्या र भौगोलिक विकटताको आधारमा एउटै वडामा एक भन्दा बढि सामुदायिक स्वास्थ्य इकाई स्थापन गरिने छ । अहिले तत्काल वडा नम्बर ४ मा पनि थप एक सामुदायिक सेवा इकाई स्थापना गरिने अध्यक्ष गुरुङको भनाइ छ ।