भरतपुर महानगरपालिकाको बजेट चार अर्ब १५ करोड

भरतपुर महानगरपालिकाको बजेट चार अर्ब १५ करोड

चितवन :  भरतपुर महानगरपालिकाले आगामी आर्थिक बर्ष २०७७/०७८ को लागि चार अर्ब १५ करोड ६४ लाख ८९ हजार आयब्यय अनुमान प्रस्तुत गरेको छ । उप प्रमुख पार्वती शाह ठकुरीले बुधबार भरतपुर महानगरपालिकाको छैटौं नगरसभामा उक्त बजेट अनुमान सार्वजनिक गरेकी हुन् ।

शहरी सौन्दर्य र भू–उपयोग एवं बस्ती विकास, स्वास्थ्य सेवामा सुधार एवं पहुँच, शैक्षिक उन्नयन एवं युवा तथा खेलकुद, कृषि तथा पशुविकास, वातावरण संरक्षण एवं विपद् व्यवस्थापन, रोजगारी सिर्जना तथा सहकारी क्षेत्रको प्रवर्द्धन, लक्षित वर्गको उत्थान एवं सशक्तीकरण र सामाजिक समावेशीकरण, प्रविधि प्रयोग तथा डिजिटल प्रणाली, संस्कृति तथा पर्यटन प्रवर्द्धन, उद्योग वाणिज्य र नीजि क्षेत्रसँग सहकार्य र राजश्व प्रशासन तथा वित्तीय सुशासन शिर्षकमा व्यय अनुमान गरिएको छ ।
अन्तरसरकारी अख्तियारीबाट ६० करोड, आन्तरिक आय बाट ९० करोड, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट एक अर्व ६९ करोड दुई लाख ३८ हजार रुपिंयाँ आम्दानीको लक्ष राखिएको छ । त्यसै गरि केन्द्र तथा प्रदेश सरकारको राजश्व बाँडफाँडबाट प्राप्त ४६ करोड १२ लाख ५१ हजार, जनसहभागिताबाट २५ करोड, बैंक मौज्दात ८२ करोड, मर्मत सम्भार कोष बाट दुई करोड र सडक बोर्ड नेपालबाट एक करोड ५० लाख प्राप्त हुने बजेटमा प्रक्षेपण गरिएको छ ।
बजेटको मुख्यमुख्य खर्चमा शहरी सौन्दर्य र भूउपयोग सम्बन्धि नीति कार्यान्वयन गर्नको लागि ४७ करोड ३१ लाख विनियोजन गरिएको छ । चालु आवमा संचालीत योजनाको भुक्तानीको लागि ८२ करोड र स्वास्थ्य सेवामा सुधार एवं पहुँचका लागि नौ करोड ५० लाख बजेट विनियोजन गरिएको छ ।
त्यसै गरि बजेटमा शिक्षा तर्फ नौ करोड, कृषि विकास तर्फ आठ करोड ५० लाख तथा पशु विकास कार्यक्रमतर्फ सात करोड गरी कुल जम्मा १५ करोड ५० लाख रुपिंयाँ विनियोजन गरिएको छ ।
महानगरले आफ्नो बजेटमा वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन का लागि आठ करोड, रोजगारी सिर्जना तथा सहकारी प्रवर्द्धनका लागि चार करोड रुपिंयाँ र संस्कृति तथा पर्यटन प्रवर्द्धनका लागि तीन करोड रुपिंयाँ बजेट अनुमान गरेको छ ।
लक्षित वर्ग उत्थान, सशक्तीकरण एवं सामाजिक समावेशीकरण दुई करोड ५० लाख, प्रविधि प्रयोग तथा डिजिटल प्रणालीका लागि दुई करोड ५० लाख र युवा तथा खेलकुदका लागि दुई करोड रुपिंयाँ बजेट छुट्याएको छ ।
त्यसै गरि राजश्व प्रशासन तथा वित्तीय सुशासनका लागि दुई करोड, उद्योग वाणिज्य तथा नीजि क्षेत्रसँग सहकार्यको लागि एक करोड ५० लाख बजेट विनियोजन गरेको छ ।
सुदृढ प्रशासन कायम गर्न र कार्यालयको प्रशासनिक खर्चमा ४८ करोड विनियोजन गरेको महानगरपालिकाले प्रत्यक वडास्तरीय कार्यक्रम गर्नको लागि एक एक करोडको दरले २९ करोड विनियोजन गरेको छ ।
भरपुर महानगरपालिका अध्यक्ष रेनु दाहालको अध्यक्षतामा सम्पन्न उक्त नगरसभामा नगरपालिका सबै वडाअध्यक्ष सदस्य एवं नगर कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो ।

बजेट खर्चका प्रमुख शिर्षकहरु :

कार्यालयको प्रशासनिक खर्च
शहरी सौन्दर्य र भू–उपयोग एवं बस्ती विकास
स्वास्थ्य सेवामा सुधार एवं पहुँच
शैक्षिक उन्नयन एवं युवा तथा खेलकुद
कृषि तथा पशुविकास
वातावरण संरक्षण एवं विपद् व्यवस्थापन
रोजगारी सिर्जना तथा सहकारी क्षेत्रको प्रवर्द्धन
लक्षित वर्गको उत्थान एवं सशक्तीकरण