इच्छाकामनामा रहेको जलबिरे लामो झरना प्रवेशमा रोक

इच्छाकामनामा  रहेको  जलबिरे  लामो  झरना प्रवेशमा  रोक

हीरालाल गुरुङ
इच्छाकामना :  चितवनको प्रसिद्ध पर्यटकिय स्थल जलबिरे लामो झरनामा प्रवेश गर्न रोक लगाएको छ । जिल्लाको एक मात्र गाउँपािलका वडा नम्बर ६ अन्तरगत नारायणगढ– मुग्लिन सडक खण्डको जलबिरेमा रहेको जलबिरे लामो झरनामा पर्यटकहरु आउने क्रम बढ्दै गएपछि कोरोना फैलने त्रासले असार २३ गते मंगलबार देखि प्रवेशमा रोक लगाइएको हो ।
देशमा कोरोना भाइरस (कोभिड–१९) को प्रभाव बढ्दै गएका बेला पनि झरना अवलोकन गर्न आउनेहरुको स्ांख्या बढ्दै गएपछि कोरोना फैलने त्रासले पूर्णरुपमा बन्द नै गरिएको जलबिरे लामो झरना पर्यटन विकास समितिका अध्यक्ष देव कुमार गुरुङले जानकारी दिनुभयो । कोरोना संक्रमण बढ्दै गएपनि गर्मी मौसमका कारण झरना घुम्न आउनेहरुको कमी नभए पछि लामो झरना पर्यटन विकास समितिको बैठक नै बसी मंगलबारदेखि नै प्रवेशमा बन्देज लगाईएको अध्यक्ष गुरुङको भनाइछ ।
अध्यक्ष गुरुङले भन्नुभयो,“ देशमा कोरोनाको संक्रमण बढ्दै गइरहे पनि गर्मी मौसमका कारण झरनाको सितलतामा आनन्द लिन आउनेहरुको संख्या बढीरहेको छ, यसले कोरोना फैलने त्रास छाएको छ ,दैनिक सय भन्दा बढी पर्यटहरु आउन थालेपछि मंगलबार देखी पूर्णरुपमा नै प्रवेशमा रोक लगाइएको हो ।”साथै उहाँले कोरोनाको त्राससंगै अहिले बर्षातको समयमा भौतिक संरचनाहरु प्नि बनीरहेकाले सुरक्षाको दृष्टिकोणले पनि जलबिरे लामो झरनामा प्रवेशमा रोक लगाइएको बताउनुभयो ।
जलबिरे लामो झरना आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण स्थल हो। यहाँ वर्षेनी ४० हजार भन्दा बढि पर्यटक झरना अवलोकनका लागि आउने गर्दछन् । गाउँपालिकाले गतवर्ष मात्रै झरना अवलोकनका लागि आउने पर्यटकहरुबाट प्रवेश शुल्क उठाउँदा रु १८ लाख भन्दा बढि आम्दानी गरेको थियो।
झरना प्रवेशका लागि ५० रुपैयाँ रहेको छ । क्यानोनिङका लागि भने विदेशी पर्यटकका लागि ५०० रुपैयाँ र नेपालीका लागि १०० रुपैयाँ निर्धारण गरिएको छ ।
यहाँ क्यानोनिङ, क्लाइम्बिङ, स्विमिङ, स्लाइडिङ, जम्पिङ र हाइकिङ गर्न देशका विभिन्न जिल्ला र विदेशबाट समेत पर्यटक आउने गरेको अध्यक्ष गुरुङले बताउनुभयो ।
यहाँ विसं २०६९ देखि पर्यटन विकास सुरू भएको हो ।चितवनमा पहिचान भएका पर्यटकीय गन्तव्य स्थलमध्ये जलबिरे लामो झरना पनि उत्कृष्ट गन्तव्यभित्र पर्छ । १०२ मिटरभन्दा लामो झरनाले पर्यटकको मन लोभ्याउने गरेको छ । सुन्दर प्राकृतिक मनोरम दृश्य तथा लामो छाँगोबाट झरेको पानीको फोहरा र त्यसबाट आउने शीतल पानीका कण र चिसो हावाको स्पर्शले पर्यटकको मन लोभ्याइदिन्छ ।
पर्यटक लोभ्याउनका लागि भौतिक पुर्वाधारमा जोड
यसैबिच यहाँ पर्यटक लोभ्याउनका लागि भौतिक पुर्वाधार निर्माण कार्य भइरहेको छ । प्रदेश र केन्द्र सरकारको बजेटमा सडक स्तरोन्नती र प्रवेशद्वार निर्माण कार्य भइरेको छ । यस अघि यहाँ हेटौँडा स्थित वागमती प्रदेश पर्यटन विकास आयोजनाबाट प्राप्त रु २५ लाख बजेटमा दृश्यवलोकन सहितको गोलो घर निर्माण सम्पन्न भइसेको अध्यक्ष गुरुङको भनाईछ । यहाँ सुरक्षाका लागि ¥यालीङ हालिएको छ ।