शोक काव्यमा सरस्वती (पुस्तक समीक्षा )

तेजविलास – समग्रमा हेर्दा अरुकालागि जन्म र मृत्यु सामान्य होला । जो त्यो प्राप्ति वा पीडामा छ त्यसको अनुभूति फरक हुन्छ नै । मान्छे सुखमा भौतिक वस्तुको अनुभवमा अल्मलिन्छ । दु:खमा दु:खका सुस्केरा हाल्छ ।
कवयित्री सरस्वती सापकोटा (जन्म २०२८फाल्गुण २६ इच्छाकामना ३ ) श्रद्धास्मृति (शोक काव्य )कि रचनाकार हुन । उनले२०७५ फाल्गुण २२ गते आफ्नो प्राणप्रिय जीवन साथी धर्मराज घिमिरेको मृत्यु पछि एक वर्षको अवधिमा मनमा आएका भावनालाई गम्भीर हिसाबले विन्यास गर्न पुगेकी छिन् ।असाध्य रोगबाट जीवन गुमाउन पुगेका आफ्ना पतिको मृत्युुले आफ्ना दैनिकीलाई नै अनौठो ढङ्गले प्रभाव पारेको विषय काव्यात्मक हिसाबले प्रस्तुत काव्यमा वर्णन गरिएको छ ।
सत्ताइस ओटा शीर्षकमा काव्य फैलिएको छ । विभिन्न प्रकारको छन्दको अनुशरण् गर्न खोजिए पनि यहाँ लोक लय झ्याउरे छन्द नै बढी प्रभावी भएर आएको छ ।छन्दले भावलाई सीमित नगरेर भावले छन्दलाई प्रभावित गर्दै आफ्ना व्यथित भाव प्रस्तुत भएको देखिन्छ । जीवन छँदाको स्मरण र मृत्यु पश्चातको कामना आफ्नो पतिप्रतिको सच्चा श्रद्धान्जलीको रुपमा पेश भएको छ ।
सादा जीवन र सफा व्यबहारका धनी धर्मराज घिमिरे लामो समय जनप्रतिनिधि भएर जनताको सेवामा समर्पित रहनु भएको थियो । केही समय पार्टी राजनीतिको अक्करे चपेटामा पनि अविचल लागिरहनु भयो । जीवन र जगतलाई आफूले सकेको जति योगदान दिनुपर्छ भन्ने मूल्य बोकेर जीवन बिताउनु भयो ।चिन्ने जान्नेले राम्ररी मूल्याङ्कन गरेका छन् ।उहाँका कर्मको यही सेरोफेरोमा काव्य हराएको छ । अझ धर्मराजलाई जान्ने वा चिन्नेले जस्तै सरल हिसाबले जीवन संगीनी सरस्वतीले बर्णन गरेकी छन् ।धर्मराजको जीवनमा पूर्णविराम लाग्यो नै तर जीवनसँग जोडिएका सिर्जना वा रचनाहरुले धर्मलाई सम्झाएर अतीत अल्झिरहने भाव शोककाब्री भित्रको प्रस्तुतिमा आएको छ ।
” कता गयौ मेरा प्यारा कता गयौ किन ।
अल्पायुमै पापी दैव आएछ नि लिन ।”
(पृ १३ अन्तिम बोली)
उपचारका प्रत्येक चरण पूरा गरियो । छोरी र आफन्त तथा शुभचिन्तक आदिले गरेका स्याहार तथा शुभकामना सफल भएन र जीवन ढल्न पुग्यो । जीवन त ढल्यो तर याद ताजै रहेको र त्यो यादले दिन दिन मात्र हैन छिन छिन पिरोलिनुपर्ने स्थिति बनाएको भान प्रत्येक कविता वा शोक काव्यांशमा परेको छ । दिनमा जे सोचिन्छ रातमा त्यही अगाडि आउछ । मनोविज्ञानको सैध्दान्तिक र ब्याहारिक पक्ष समेत यहाँ राम्ररी प्रयोग पक्षमा आएको छ । छोराछोरीको निम्ति त आफू रहेको तर आफ्नो निम्ति संसार अन्धकार भएको बोध कवयित्रीको रहेको छ ।अरुको विषयमा कविता लेख्नु र अनुभवलाई पोख्नुमा आकास जमिनको फरक रहेछ । उनको रचना भित्र घोत्लिदा छिन छिन मै मन भावमय बनेर रसाउँछ ।
काब्यभित्र अझै ३० वर्ष लामो सह जीवन यात्रामा जति दु:खपर्दा पनि नअत्तिइकन अगाडि बढ्ने प्रेरणाका स्रोत बनेको प्रमाण पेश भएको छ ।आफ्नो शिक्षण पेशा र श्रीमानको राजनीति मार्फत समाज सेवाले धेरै कुरालाई सहज बनाएको, जति कठिन राजनीति मोडमा पनि अविचल रहेर अवसरवादीको तुलनामा पछाडि त परियो होला तर आफ्नो विगतलाई हेरेर नपछुताउने कुरा पनि पति धर्मराजको जीवनीबाट पुष्टि गरिएको छ ।कवयित्रीको कस्तो अनुरोध छ भने यति पीडा लाग्दो वियोगलाई पनि सहज पचाएर तिम्रो सम्झना बाहेक अरु केही नआउने र छिनछिनै आउने सम्झना बियोग प्रिय पतिको अझै आइरहोस भन्ने कामना गर्न पुग्दछिन् । पतिभौतिक रुपमा आफ्नो बाटो लागे पनि बाच्नेले पीडाको बीचमै पनि मुखमा माड लगाउनु पर्ने भएकाले मान्छेको विवश जीवनयात्राको शाश्वत पक्ष पनि समग्रतामा प्रकाशित भएको छ ।
अरुको दु:ख पढ्नु भनेको दु:खलाई निम्तो होइन जीवनको अनेक पाटोको अध्ययन हो ।त्यसैले शोकलाई साहित्य रूपी शक्ति र सिर्जना रुपि अभिलेखमा सुरक्षित गर्ने यो प्रयासले जीवन संघर्षको गहिरो बोध गर्दछ ।दु:ख बुझ्न यो काब्यले सहयोग मात्र पुर्याउदैन ,यस काब्यको सहायताबाट जीवनको हरेक यात्रालाई सामान्य रुपमा परिभाषित नगरी सबै समय विशेष हो भन्ने चेत खोलिदिएको छ।
