अनलाइन कक्षाका कुरा- “नवीन अधिकारी”

अनलाइन कक्षाका कुरा- “नवीन अधिकारी”

नबिन अधिकारी   

२० वर्ष अगाडि सानै छदा पल्लो गाउँको एकजना साथीले उसको सरको बारेमा खुब सुनाउथ्यो। हाम्रो सरले भन्या पिलेनमा त २ घण्टामा अम्रिका पुगिन्छ रे।पुगिन्छ होला किन नपुग्नु एक मिनेट पनि नलगाइकन त्यो डाँडो काट्छ भनेर भन्थे म।खै उसलाई सरले भन्थे अथवा आफै बनाउँथ्यो उसले यस्तो कुरा सुनाई रहन्थ्यो।हाम्रो सरले भन्या कोरियामा दूरबिन छ रे पूरा विश्व हेर्न मिल्छ रे। हाम्रो सरले भन्या यो भुई खोतल्दै गयो भने अम्रिका पुगिन्छ रे।उसको सरले बनिसकेका कुरा मात्रै हैन बन्दै नबनेका कुरा नी भन्थे।एकदिन चन्द्रमामा घर बन्छ अनि एकादशीको दिनमा रकेटमा चढेर चन्द्रमामा पुगेर पूर्णिमाको दिनमा पूजा गरेर फर्किन्छन मान्छे। एकदिन अल्लो कोठामा गए जापान पल्लो कोठामा गए चीन पुगिन्छ रे।गाई चराउन जादा उसले भनेको थियो हाम्रो सरले भन्या १०० वर्षपछि यस्तरी गाई चराउन पर्दैन रे। खल्तीमा अट्ने गाई बन्छ रे। अनि आफूलाई जैले मन लाग्यो कोटको खल्तिबाट गाई निकाल्यो अनि दूध दुहेर खायो। अरुकुरा होला होला जस्तो लागेपनि मैले खल्तीमा अट्ने गाई बन्छ भनेर चाई मैले कैले पनि पत्याइन्।  तर आज २०७७ सालमा यो लेख लेख्दै गर्दा मेरो त्यो पल्लो गाउँको साथीको सरले भनेको कुरा ठ्याक्कै नमिले पनि सर चतुर रहेछन् ५०% सत्यतामा ५०% गफ ठोकेर बाल मनोविज्ञान बुझेर रमाइलो ढंगले पढाएका रहेछन् भन्ने लाग्छ। सायद त्यतिबेला मेरो साथीले हाम्लाई त सरले घरमा बसेर पढाउनुहुन्छ, हामी स्कूल जानै पर्दैन, घरमै पढाइ हुन्छ, पृथ्वी मा अहिले हुँदै नभएको जनावर देखाउनुहुन्छ, आकाशमा देखिने कुन तारा भित्र के छ भनेर देखाइदिनु हुन्छ भनेर भन्या भए मैले पत्याउँदिन थिए होला। उसले त्यस्तो भनेन किनकि हामीले र उसको सरले कहिल्यै पनि कल्पना गरेका थिएनौं कि हामी विद्यालय जानै नमिल्ने दिन पनि आउँछ। मान्छे ले मान्छे भेट्नै नमिल्ने दिन पनि आउँछ। र घरमै बसेर पढाइ हुन्छ।

 

२०७६ पुस १५ पछिका कुरा

चीनको वुहाननजिकै पशुपक्षी व्यापार हुने एउटा बजारमा पहिलो पटक २०७६ को पुष १५ (डिसेम्बर ३१, २०१९)मा  सङ्क्रमण पुष्टी भएको कोरोना भाइरस केही महिनामै विश्वभरि फैलियो। कोरोना लाग्नै नदिने खोप र कोरोना लागेकालाई उपचार गर्ने औषधि पत्ता नलागेकाले विश्वभरि कोरोनाभाइरस सङ्क्रमण र त्यसबाट हुने रोग कोभिड-१९ को त्रास रह्यो। विश्वका अधिकांश देशमा मान्छेका गतिविधिहरू अत्यावश्यक काममा मात्रै सीमित भए। हाम्रा विद्यालय, क्याम्पस तथा विश्वविद्यालय बन्द भए। ट्युसन सेन्टर,तालिम केन्द्र,राजनीति, कला, साहित्य तथा मनोरंजन क्षेत्र मार्फत हुने भेटघाट कार्यक्रम पनि बन्द भए। यसको विकल्पमा आयो अनलाइन माध्यम। आजको दिनमा यो परिकल्पना भन्दा बाहिर थिएन। किनकि यसअघि नै पनि हामीले मोबाइल, टेलिभिजन, कम्प्युटर मा एक अर्कासँग सशरीर उपस्थिति भएर बोलेको र हेरको थियौं। यसैका लागि विभिन्न सफटवेयरहरू र एप्लिकेसनहरु पहिल्यै देखि बनेका र प्रयोगमा आएका थिए। तर कोरोना माहामारीको कारण पनि यसको प्रयोग ह्वात्तै बढेर गयो किनकि २१ औं शताब्दीको मानिस यो महामारी अन्त्य नहुँदा सम्म थन्किएर बस्ने वाला थिएन। पठन पाठन ,सभा ,सम्मेलन र छलफलहरु विस्तारै अनलाइन पद्धतिबाट चल्न थाले। ओहो हामीले २० वर्ष अगाडि सोच्नै नसकेको काम दैनिक जीवनमा गर्न थालिसकेका रहेछौ। 

                                        यस्ता कार्यक्रम का लागि फेसबुक को म्यासेन्जर रूम, जुम, माइक्रोसफ्ट टिम्स, गूगल मिट जस्ता एप्लिकेसनहरु नेपालमा प्रचलित छन्। यसमा धेरै मानिसहरू एकैपटक श्रव्य(audio), दृश्य(video) सहित भेट हुन मिल्छ। एकजनाले बोलिरहँदा अन्य सबै मौन (mute) रहन मिल्ने बनाइएको हुन्छ। कसैलाई बीचमा बोल्न मन लागेमा मौनता भंग(un-mute) गरेर बोल्न पनि मिल्छ। अथवा धेरै जनाले एकैपटक छलफल गर्न पनि मिल्छ। त्यसैले यो रेडियो र टेलिभजनमा सुनेको हेरेको भन्दा फरक छ। श्रव्य र दृश्य सँगै हामीलाई यस्ता छलफल गर्न चाहिने अर्को महत्वपर्ण कुरा अक्षर पनि हो। यसका लागि भिडियो मार्फत नै आफूले तत्काल लेखिरहेको देखाउन पनि सकिन्छ। डिजिटल लेखाइ अनुसार विभिन्न अन्य एप्लिकेसनहरुमार्फत आफूले टाइपिङ गर्ने र आफ्नो मोबाइल अथवा कम्प्युटर को पर्दा(screen) छलफल भइरहेको समयमै देखाइरहन समेत मिल्छ। यस्ता लिखित सामाग्री पहिले नै तयार पारेर राखेर देखाउन समेत मिल्छ जसले गर्दा समय बचत हुन्छ। अनलाइन पद्धतिको सबैभन्दा सबल पक्ष भनेको हामीले वास्तविक भेट भएर देखाउन नमिल्ने दृश्य समेत यहां देखाउन सकिन्छ। उदाहरणका लागि हामी बाघको बारेमा छलफल गरिरहेका छौं भने बाघको चित्र, फोटो, आवाज अथवा दृश्य (video) हर्दै हामी छलफल गरिरहेका हुन सक्छौं। अझ महत्वूर्ण कुरा हामी इतिहास तथा विज्ञानमा परिकल्पनाको बारेमा समेत छलफल गरिरहेका हुन्छौं। यस्ता परिकल्पना समेत हामी दृश्य बनाएर छलफल गर्दछौं। उदाहरणका लागि आज भन्दा १६ करोड ५० लाख वर्ष पहिले देखि पृथ्वीमा बसेका र ६ करोड ५० लाख वर्ष पहिले नै लोप भएका डाइनोसरको बारेमा छलफल गर्दा हामीसंग ती डाइनोसरको साँच्चिकै श्रव्य दृश्य उपलब्ध छैनन् तर विभिन्न माध्यमद्वारा एनिमेसन गरेर तयार पारिएका श्रव्य दृश्य हेर्दै कुरा गर्न सक्छौं।  त्यसैले यस्ता शैलीहरु कुनै कुनै मामलामा वास्तविक भेटेर गरिएभन्दा पनि उत्कृष्ट छन्।

                                                            यसो त यो पूर्ण हुँदै होइन। विद्यालयका साना बालबच्चालाई भौतिक रुपमा नै सिकाउने र नँजानेको नबुझेको कुरा तत्कालै सच्याइदिनुपर्ने हुन्छ। विद्यालय तह भन्दा माथि पनि प्रस्तुतकर्ताले सिकाएको कुरा अरूले बुझे की बुझेनन् भनेर भौतिक रुपमै उपस्थित हुनुपर्छ। गोपनीयताको सवालमा यस्ता कार्यक्रमहरू गोपनीय नभएको भनिन्छ। यसका अनेक नकारात्मक प्रभाव भोलिका दिनमा अझै देखिदै जालान। मानिस भन्दा मानिसले बनाएको मेसिन कहिल्यै पनि पूर्ण हुँदैन। त्यसैमा पनि यो हामीमाझ त अपर्झट आएको प्रविधि। हामीमाझ आफ्नै समस्या छन्। सा। यसका लागि यस्ता सफ्टवेयर तथा एप्लिकेसनहरु चल्ने मोबाइल, अथवा कम्प्युटर चाहिन्छ। हामी धेरै नेपालीसँग यसको पहुंच छैन। यस्ता सफ्टवेयर तथा एप्लिकेसनहरु चलाउनका लागि द्रुत गतिको इन्टरनेट सुविधा चाहिन्छ। इन्टरनेट सुविधा महँगो त छदैछ सेवा प्रदायक कम्पनीहरुले देशको सबै भूभागमा पुर्याउन नसक्दा भनेजति पैसा तिरेर चलाउँछु भन्दा पनि चलाउन मिल्दैन।  विजुलिसम्म निरन्तर पुग्न नसकेको ठाउँमा द्रुत गतिका इन्टरनेट कसरी पुगुन। यस्ता कार्यक्रमहरू रेकर्ड गरेर समेत हेर्न मिल्छ तर आफै उपस्थित हुँदा जस्तो हुँदैनन् रेकर्डिङ गरिएका कार्यक्रम। सबैकुरा भएर कार्यक्रम मा भाग लिने शिक्षक, विद्यार्थी, तालीमकर्ता, विज्ञ, उपस्थित हरुले यसको गम्भीरता अझैसम्म लिएका छैनन्। हामी सबैको मनमा एउटा कुरा छ यो अस्थायी हो। एकदिन मानवले कोरोना सँग युद्द जित्नेछ हाम्रा पुरानै दिन फिर्ता हुनेछन्। म मानव भएकोमा घमण्ड साथ भन्छु पक्का एकदिन कोरोना हार्नेछ हाम्रो पुरानो दिन फर्किनेछ। तर के अनलाइन प्रविधि पनि अस्थायी नै हो त?  कोरोना सगै अनलाइन कक्षा पनि सती जान्छ त?

 

भोलिका कुरा

भोलिका दिनमा हामीले कोरोना लाई जितिसकेपछि पनि यसको प्रयोग केही हद सम्म भइरहन्छ। इन्टरनेटको पहुँच पक्का बढ्नेछ। सफ्टवेयर तथा एप्लिकेसनहरू आजका भन्दा झनै गुणस्तरिय र उपयोगी आउनेछन्। यसले हाम्रो सिकाइ पद्धतिलाई अझ सजिलो बनाउनेछ। उदाहरणका लागि पर्वतको कुश्मामा बस्ने विद्यार्थी त्रिवि को केन्द्रिय क्याम्पस नै पढ्ने चाहना राख्छिन् तर उनी घरमै बसेर सैद्धानतिक पढाइ सिक्छिन्  र प्रयोगात्मक र परीक्षा प्रयोजनका लागि मात्रै काठमाडौं पुग्छिन्। मुस्ताङको मार्फा गाउँमा बस्ने किसानले कृषि तथा वन विश्वविद्यालय मा  स्याउ खेती सम्बन्धी जानकारी मुस्ताङ बाटै दिनेछन्। मध्य पश्चिम सल्यान मा बस्ने  राउटे मुखिया मानबहादुर का नातिले सल्यान बाटै काठमाण्डौ मा मादल बनाउने तालिम दिनेछन्। उदयपुरको लिङचुङबुङ गाउँपालिकामा सामाजिक शिक्षक अभाव भएर पठन पाठन नैं ठप्प गराउनु पर्दैन, देशविदेश मा कतै रहनुभएका शिक्षकले अनलाइन बाटै पढाउनु हुनेछ भने सोही विद्यालयमा रहेका अर्का शिक्षकले सहजीकरण गरिदिनुहुनेछ। अथवा अन्य केही होलान् तर यस्ता अनलाइन कार्यक्रमहरू चलिनै रहनेछन्। मात्रै एउटा कुरा होला नहोला मा अझै एकिनका साथ भन्न सक्दिन के कोटको खल्तीमा हालेर हिड्ने गाई बन्ला ?

लेखक नबिन अधिकारी हाल त्रिबि केन्द्रिय क्याम्पसमा Msc Chemistry अध्ययनरत छन् ।