जनतालाइ निषेधाज्ञा भरतपुर महानगरकि मेयर भने औपचारिक कार्यक्रमको उद्घाटनमा

जनतालाइ निषेधाज्ञा भरतपुर महानगरकि मेयर भने औपचारिक कार्यक्रमको उद्घाटनमा

भरतपुर १४ भदौ । जिल्लामा कोरोना संक्रमण समुदायस्तरमा फैलन थालेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले भदौ १९ गतेसम्म निषेधाज्ञा लगाएको छ । निषेधाज्ञामा अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन सूचना जारी गरिएको छ तर भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल भने विभिन्न औपचारिक कार्यक्रममा व्यस्त छिन् ।

भरतपुर महानगरपालिकाले भरतपुर १ बागेश्वरीस्थित बनाएको आइसोलेसन सेन्टरको आइतबार औपचारिक कार्यक्रम आयोजना गरी मेयर दाहालले उद्घाटन गरेकी छन् । त्यसो त महानगरले नै निषेधाज्ञाको समयमा अनावश्यक घर बाहिर ननिस्कन, कुनै पनि भेला, गोष्ठीलगायतका औपचारिक कार्यक्रम नगर्न सूचना जारी गरेको थियो ।

उद्घाटन कार्यक्रममा सांसद कृष्णभक्त पोखरेल, प्रदेश सांसद धनश्याम दाहाल ‘अविनाश’, चितवनमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, प्रदेश सांसद विजय सुवेदी, महानगरकी उपप्रमुख पार्वती शाहलगायत महानगरका विभिन्न वडाका वडाध्यक्षहरुको उपस्थिति थियो । मेयर दाहाल शनिबार वडा कार्यालयको शिलान्यास गर्न भरतपुर महानगरपालिका वडा नं २३ पुगेकी थिइन् ।

मेयरबाट नै निषेधाज्ञाको उल्लंघन भइरहेको नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले बताए । ‘शिलान्यास गर्न मरिहत्ते नै गर्नुपर्ने के थियो, गर्ने पर्ने भए अनलाइन जुम मार्फत भयो भन्दा हुन्छ’, उनले भने, ‘निषेधाज्ञामा सय डेढ सय मान्छे जम्मा गरेर निषेधाज्ञाको उल्लघंन भएको छ ।’ प्राकृतिक चिकित्सालयमा बेड राख्दैमा आइसोलेसन भनेर उद्घाटन गर्दै हिँड्नु नपर्ने उनले बताए । ‘मान्छेले तरकारी लिन जाँदा, औषधि लिन जाँदा पनि जरिवाना तिर्नुपरेको छ । के लकडाउन उहाँलाई नलाग्ने जनतालाई मात्र लाग्ने हो र’, उनले भने ।

सामान्य तरिकाले सामाजिक दुरी कायम गरेर शिलान्यास र उद्घाटनका कार्यक्रम गरिएको भरतपुर महानगरपालिकाका प्रवक्ता अरुणपिडित भण्डारीले दाबी गरे । ‘निषेधाज्ञा उल्लघंन हुने गरी गरेको छैन’, उनले भने, ‘आइसोलेसन सेन्टर पनि भौतिक दुरी राखेर उद्घाटन गरेका हौँ । जनताको लागि भनेर स्थापना गरेको कुरा पनि उद्घाटन गर्न नपाउने भन्ने कुरा त भएन नि ।’

कुनै प्रचारप्रसारका लागि कार्यक्रम नगरिएको उनले बताए । जनहितका लागि गरेको काममा विरोध गर्नु नपर्ने आशय रहेको उनको भनाइ छ ।  #chitwan_post