चर्चित खेलाडी नेमार र डिमारियालाई कोरोना संक्रमण पुष्टि

फ्रेञ्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) का ब्राजिलियन फरवार्ड नेइमारलाई कोरोना भाइरसको संक्रमण भएको छ।
फ्रेञ्च मिडियाहरूका अनुसार नेइमारसँगै पिएसजीका एन्जल डि मारिया र लिएन्द्रो पारेडेसलाई पनि कोरोना संक्रमण भएको छ।
तीनै जना अब कम्तिमा एक साताको क्वारेन्टिनमा बस्नुपर्नेछ।
यसअघि पिएसजीले बिहीबार विहान आफ्ना तीन जना खेलाडीलाई कोरोना लागेको पुष्टि गरे पनि खेलाडीको नाम भने खुलाएको थिएन।
आफ्ना मुख्य खेलाडीलाई कोरोना लागेसँगै पिएसजीले लिग वानका खेल स्थगित गर्न अनुरोध गरेको छ। लिगमा पिएसजीले आफ्नो पहिलो खेल लेन्ससँग शुक्रबार मध्यरातमा खेल्ने तालिका छ।
यसअघि च्याम्पियन्स लिगका कारण पिएसजीका सुरुवाती लिग खेल पनि सारिएका थिए।
च्याम्पियन्स लिगको फाइनलमा जर्मन क्लब वायर्न म्युनिखसँग पराजित भएको पिएसजीको अनुरोधमा सुरुको खेल सारिएको थियो। जसका कारण अरु क्लबले सुरुवाती दुई खेल खेल्दा पिएसजीले लिगको खेल खेलेको छैन।
यता च्याम्पियन्स लिगको फाइनलपछि नेइमार, डि मारिया लगायत पिएसजीका खेलाडी छुट्टी मनाउन इबिजा गएको बताइएको छ। जसका कारण उनीहरूलाई कोरोना सरेको दाबी फ्रेञ्च मिडियाले गरेका छन्।
