भोको पेट

भोको पेट

भोको पेटको निम्ति अविरल यात्रा सुरु गरेको थियो मान्छेले कालान्तरमा । रुखको बोक्रा र कन्दमूलको खोजिबाट सुरु भएको यात्रा यद्यपि निरन्तर छ।
पृथ्वीको पत्र पत्र केलाएर मान्छेले समुद्र मन्थन गरिसक्यो । कुनै वर्तमान ले भोको पेटको मान्यतालाई गौण बनाउन सकेन । मरिससको टापुमा सुन खोतल्ल गएका लाखौँ मानिस दासताको युग भोग्न विवस भए । भोको पेटको जलनले उनीहरुलाई श्रीलङ्कामा पुर्याएर विद्रोही तमिल बनायो ।
आसमीहरुले पेटको अर्थ बुझेपछि त्यहाँबाट नेपाली भोका पेटहरु लखटिए। इतिहासदेखि वर्तमानसम्म मानवताको सूचक हो भोको पेट। पेटको मूल्यले जति आकाश छुँदै गयो शरीरको मूल्य उति नै सस्तोमा बिकिरहयो। पृथ्वीमा मानिस एक हातले पेट र अर्को हातले भाग्य थामेर दौडिरहेको छ । नेतृत्वको भोग हात्ती जत्रो महत्वाकांक्षा भएर सुन्निएको छ। वर्तमान कन्दमूल, रुखको बोक्रोको खोजबाट एक कदम अघि बढेको छैन।
भरेको छाक उसको ठुलो समस्या र विहानको छाक उसको जीवनको एक शाश्वत उपलव्धि बनेको छ ।
आकाङ्क्षा जस्तो होस्, आकाश जत्रै प्रश्नचिन्न छ ।
हरेकको निधारमा त्यही भोको पेटको सवाल छ।
तिनीहरु जो सिद्धान्त लेख्छन् पुस्तकहरुमा ।
मूक्ति र मोक्षका कुरा गर्दछन् एकान्तमा ।
तिनीहरु जो समानताका गीत गाउछन् सभाहरुमा ।
सहिद हुने सपना देख्छन् भावनाहरुमा ।
ठुला युद्धमा पेटलाई गौण राखेर लडेको तर्क किन दिन्छन् इतिहासमा। आखिर मानिस लडेको छ भोको पेटकै निम्ति। माहाभारतमा लडे पैदलीहरु ज्यालाका निम्ति। रावणसगँ बाँदरहरु लडे पेटको सुरक्षाका निम्ति। विश्वयुद्वमा सैनिकहरु लडे तलबका निम्ति।
मानवताको चीत्कार, पेटको चीत्कार। मानवताको कमजोरी पेटको कमजोरी।
भोका पेटहरु आर्दशका नाममा उपस्थिति छन्।
सभाहरुमा, समारोहहरुमा, ताली पिटिइरहन्छन् आश्वासनमा। भोट खसालिन्छन् हरेक जनमतहरुमा।
त्यसैले भिडबाट एउटा वर्तमान खोजिरहे छु म।
भोलिप्रतिको मोह, जीवनप्रतिको आकांक्षा।
मान्छेले उसको सभ्यतालाई पेटभन्दा अघि पुत्याउन नसकोस्
तर ऊ आफ्नो सत्ताको सुरक्षा गर्ने छ युग युगसम्म ।

कैलाश कोइराला
नेपालि काङ्ग्रेस चितवन जिल्ला उपसभापति