हस्पिटलले दुर्घटनाका घाइते सहित स्थानीयलाई पनि सर्वशुलभ स्वास्थ्य सेवा दिएको छ : अध्यक्ष लामा

हस्पिटलले दुर्घटनाका घाइते सहित  स्थानीयलाई  पनि   सर्वशुलभ स्वास्थ्य सेवा दिएको छ :   अध्यक्ष लामा

 

मुग्लिन, १६ असोज ।  चितवनको इच्छाकामना ५ स्थित मुग्लिन बजारमा रहेको  मुग्लिङ हाइवे हस्पिटलले आफ्नो सेवा सुचारु गरेको आज एक बर्ष पुरा भएको छ।
स्थानीय अगुवाहरुको सक्रियतामा संचालन गरिएको नाफारहित उक्त सामुदायिक हस्पिटलले आज एक बर्ष पुरा गरेको हो ।
अस्पतालले एक बर्ष पुरा गरेको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम समेत आयोजना गरिएको थियो । अस्पतलाका अध्यक्ष राम बहादुर लामाले व्यास्त राजमार्गमा अत्याधिक दुर्घटना हुने क्षेत्र भएकाले मुग्लिङ हाइवे हस्पिटलले दुर्घटनाका घाइतेहरुलाई तत्काल मृत्यु हुनबाट जोगाउने काम गरिरहेको बताउनुभयो ।साथै उहाँले इच्छाकामना र आसपासका छिमेकी जिल्ला गोरखा, धादिङ तनहुँ लगायतका स्थानीय पालिकाहरुको जनताका लागि सर्वशुलभ स्वास्थ्य जाँच तथा उपचार सेवा दिइरहेको बताउनुभयो। उहाँले विशेष गरि आर्थिक रुपमा कमजोर भई अन्यत्र टाढा गई उपचार गर्न नसकेका विरामीहरुले यहाँ उपचार गराउने गरिएको बताउनुभयो ।
साथै अध्यक्ष लामाले कोभिड –१९ को महामारीको समयमा पनि निरन्तर हस्पिटल संचालन गरि सेवा प्रदान गरिएको बताउनुभयो ।


गाउँपालिका उपाध्यक्ष कृतिकुमार श्रेष्ठले नाफारहित भएकाले गाउँपालिकाले यस हस्पिटलका लागि सहयोग गर्दै आइरहेको बताउनुभयो । आगामी दिनमा पनि गाउँपालिकाले गर्न सकिने सहयोगले निरन्तरता दिने प्रतिवद्धता जनाउनुभयो । उहाँले कोभिड–१९ को महामारीको समयमा अन्य स्वास्थ्य संस्थाहरु बन्द रहेको बेलामा मु्ग्लिन हाइवे हस्पिटलले निरन्तर सेवा दिएको भन्दै प्रशंसा गर्नुभयो ।


वडाध्यक्ष मोदराज सिलवालले मुग्लिन हाइवे हस्पिटलले दिइरहेको सेवाको प्रशंसा गर्र्दै वडा र व्यक्तिगत तर्फबाट सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
साथै उत्कृष्ट कर्मचारीको रुपमा माधव बस्नेत सम्मानित हुनुभएको छ । मेडिकल सहायक बस्नेतलाई प्रशंसा पत्र र नगद सहित सम्मान गरिएको हो।
मुग्लिङ हाइवे हस्पिटलमा चितवनको इच्छाकामना गाउँपालिका सहित, गोरखा, तनहुँ र धादिङबाट समेत स्वास्थ्य उपचार गर्न आउँछन् ।मुग्लिङ हाइवे हस्पिटल अहिले १५ शैयाको रहेको छ ।