अज्ञात व्यक्तिको छुरा प्रहारबाट गर्भवती महिला गम्भीर घाइते

अज्ञात व्यक्तिको छुरा प्रहारबाट गर्भवती महिला गम्भीर घाइते

गोरखा  : भीमसेन थापा गाउँपालिका–४ धावामा गएराती अज्ञात व्यक्तिको छुरा प्रहारबाट एक महिला गम्भीर घाइते हुनुभएको छ । चौतारा स्थित भगवती माध्यामिक बिधालय नजिककै पसल सञ्चालन गर्दै आउनु भएकी अन्दाजी २५ बर्षिय अन्जु भट्ट अज्ञात व्यक्तिको छुरा प्रहारबाट गम्भीर घाइते हुनुभएको हो । घाइते भट्टको ढाड र कम्मरमा २ ठाउँमा छुरा प्रहारबाट गम्भीर चोट लागेको वडाध्यक्ष मदन श्रेष्ठले जानकारी दिनुभयो । घाइते महिला गर्भवती समेत रहनु भएको उहाँले बताउनुभयो ।

‘गएरातीको करिब साढे ११ बजेको समयमा सुतिरहेका बेला अज्ञात व्यक्ति कोठामा पसेर महिला माथि छुरा प्रहार भएको हो, गरगहना लुटपाट गर्ने उद्देस्यले आएको र महिलाले चिच्चाएपछि छुरा प्रहार गरेर ति व्यक्ति भागेको रहेछ ’ घाइतेको भनाई उदृत गर्दै वडाध्यक्ष श्रेष्ठले भन्नुभयो । घाइते भट्टको तत्काल उद्धार गरि उपचारका लागि गोरखा अस्पताल पठाइएको भएपनि त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि भरतपुर अस्पतालमा पठाइएको उहाँले बताउनुभयो ।

‘कोठमा महिला र उहाँकी ४ बर्षकी छोरी संगै सुतेका रहेका रहेछन्, वडाध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘सुतेका बेला कोठा भित्र कोही हाम्फालेको आवाज आएपछि महिलाले उठेर लाईट बाल्ने क्रममा उहाँ माथि छुरा प्रहार भएको हो ।’ घाइते महिलाकी श्रीमान बिराज भट्ट भने गएराती पुरानो घरमा सुतेका थिए । पसलघरमा सन्जु, उनकी ४ बर्षकी छोरी र बृद्ध ससुरा सुतेका थिए ।

घटना लगत्तै इलाका आरुघाट प्रहरी कार्यालय र ध्याम्पेसाल प्रहरी चौकीबाट प्रहरीको टोली घटनास्थलमा पुगेर शकास्पद व्यक्तिको खोजी गरेको भएपनि घटनामा संलग्नको पहिचान हुन भने सकेको छैन । घटनास्थल वरपर अन्य घर नभएकाले तत्काल अभियुक्त भाग्न सफल भएको वडाध्यक्ष श्रेष्ठको भनाई छ । घटनाको अनुसन्धानका लागि शंकास्पद केहीलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक (डिएसपी) बासुदेव खतिवडाले जानकारी दिनुभयो ।