कैलाश कोइरालाको आउँदै गरेको उपन्यास राजबिउँ बाट केही अंश

कैलाश कोइरालाको आउँदै गरेको उपन्यास राजबिउँ बाट केही अंश

…………. त्यो समय बेग्लै थियो। बुवाका लागि निकै प्रतिकूल थियो देश। जहिल्यै बुवा लुकेर घर आउथे। घरमा पनि चैनसँग बस्दैनथे। भूमिगत जस्तै थिए उनी।
बुवासँगै राजद्रोहको मुद्दामा जागिर गुमाएकाहरूले माफी मागेर पुनःजागिर सुरू गरिसकेका थिए तर बुवाले सरकारसामु माफी मागेनन् बरू पञ्चायत विरोधी गतिविधि बढाउँदै गए। झन् झन् प्रशासनको आँखाको तारे बन्दै गए।
उनले दुईवटा कुराको विरोध गरेको म कहिल्यै बिर्सन सक्दिन । एउटा पञ्चायत र अर्को कम्युनिस्ट । मेरो मस्तिष्कमा पनि के छाप परेको थियो भने पञ्चायत रोग हो र कम्युनिष्ट डरलाग्दो मनोस्टर हो । जसले बुवा लुक्दै हिड्नुपर्छ। लखेटिनुपर्छ। आमा पनि पञ्चायतभन्दा बढी कम्युनिष्टसँग डराउँथिन् ।
उनीहरू टाउको काट्छन । उनीहरूसँग मुटु हुँदैन । त्यस बेला गाउ समाजमा त्यस्ता कयैन् हल्लाहरू हून्थे। जसलाई सुन्दा समेत निकै डर लाग्थ्यो । रातमा बुबासँग पिसाब फेर्न बाहिर आउँदा दुई कुराको डर हुन्थ्यो मेरो मनमा, एक भूतको र अर्को कम्युनिस्टको । हाम्रो घरको माहौल नै बेग्लै थियो। कहिले सुनसान, कहिल्यै भिडमय । प्राय रातमा हुन्थ्यो भिड। त्यस बेला छत्तिस सालको जनमत सङ्ग्रहको तयारी हुँदै थियो । बुबा पनि चुनावमा निकै सक्रिय हुनुभएको थियो । पञ्चायतको खिलाप । उहाँ प्रमुख लिडर नै हुनुहुन्थो गाउँमा ।
आमाले कता कता बाका सामु गुनासाका चाङहरु ठडाएको समेत मलाई सम्झना छचुनावमा चुप लागे त हुने नि
त्यत्रो धम्की आएको छ
घरपरिवारको पनि त चिन्ता हुनुपर्यो नि
आमाका यी गुनासाहरू सुनेर बवा एउटै रटान लगाउथे हामीले नआँटे कसले आँट्छ।ू
त्यस बेला म चार वर्षको हुँदो हुँ । चुनाव भएको नभएको मलाई सम्झना छैन तर बुवाहरुले हारेको कुरा स्पष्ट सम्झना छ। बहुदलको पक्षमा निर्णय न आउँदा बुवा निकै निराश भए। लुकिलुकी हिँड्नु पर्ने दिनको समाप्ति कल्पिएका थिए तर निर्दलले जित्नु निरन्तर प्रशासनका आँखाको तारो भइरहनु थियो। आमा समेत त्यो हारमा निराश थिइन् । दाइदिदीहरु पनि निराश बने। त्यो माहौलले मलाई पनि निराश बनायो । मलाई  लाग्यो हार निराश बनाउने हतियार हो । त्यसपछि हार सफल बनाउने अस्त्र पनि हो भनेर बुझ्न मलाई बर्षौँ लाग्यो।

चुनाव सकिएको केही हप्तापछि पल्ला घरका ललन थारू हतारिँदै आए। निकै डरलाग्दो र अनपेक्षित खबर, उमाकान्त बाजे हुलका हुल मान्छेहरु तपाईं काँमा आउदैछन् रे। को कम्युनिष्टहरु ।
क्य छ खासखुस सामन्त र पञ्चसग मिलेको आरोप छ।
सुरूमा नाराहरूका गर्जन सुनियो । त्यो गर्जन ठुलो ठुलो हुँदै आइरहेको थियो । ललनले खबर ल्याएको त्यस्तै आधा घन्टापछि प…..रबाट आइरहेको राँके जुलुस देखियो । त्यसपछि भने बुवाका आँखामा त्रास थपियो। त्यसपछि हामी छिमेकीका घरमा लुक्न गयौँ। मलाई लाग्यो, कम्युनिस्टहरु त रातमा राँको लिएर हिँड्दा रैछन्। यिनिहरू राँकेभूतका परिवारका होलान्। बुवाले अरू सबैलाई ललनका घरको भित्री कोठामा लुकाए तर मलाई आफैंसँग राखे, खै किन कुन्नि अनि त्यो घरको झ्यालबाट हाम्रो घरतर्फ चिहाए ।बुबाका आँखामा जे जे पर्यो त्यही पर्यो मेरो आँखामा । त्यसपछि म स्पष्ट भएँ, कम्युनिस्टहरु पनि हामी जस्तै मान्छे नै रहेछन् तर अलि छरिता मान्छेहरु । जोसिला मान्छेहरु । जसले टाउकोमा राता फेटा बाँधेका हुन्छन्।
त्यसपछि उनीहरूले के के गरे गरे, कसैले गोठबाट गाई खोले। कसैले बाख्रा खोले । त केही भित्र पसेर के के छ भनी चेकजाँच गरे। अनि मट्टितेल छर्किए घरको भित्तामा र चिरागले आगे झोसे । आगो दनदनी दन्किन थाल्यो । जाबो खरका छाना र काठका भित्ताले आगोलाई कसरी रोक्न सक्थ्यो ? अनि आगो लगाउनेहरु हिँडे त्यहाँबाट । उनीहरू फर्किँदा पनि उही गर्जनका साथ फर्किए, सामन्ती उमाकान्त मूर्दावाद पञ्चपोषक उमाकान्त मूर्दावाद
हाम्रो घर जलेको आगोले वरिपरि उज्यालो भयो। त्यो उज्यालो ललन थारूका झ्यालभित्रसम्म पुगेको थियो । त्यै उज्यालोमा बुबाको अनुहार देखेँ । उनको अनुहार अँध्यारो आकाशजस्तै गुम्म थियो । र आँखामा आँसु थिए । जो गाला हुँदै बग्दै थिए सर्लक्क । मैले पहिलो पटक बाका आखामा आँसु देखेको थिएँ । बाका आँसु देखेर म पनि रोए सुँक्क सुक्क । बुवा र मैले देखेको दृश्य फरक थियो । आँसु फरक थियो । अनि बुझाइ पनि फरक थियो । मेरो बुझाइमा, अरूलाई रुवाउने, अरुको घर जलाउनेहरु
कम्युनिस्ट हुन्। यिनीहरूका काम अरूलाई रूवाउनु हो……………………………………….