कालो नैवेद्यको सामान्य चर्चा।।

कालो नैवेद्यको सामान्य चर्चा।।

इच्छाको प्यास मेटिन्न यै हो विकासको गति ।
सन्तुष्टि सुख मात्रै हो यस्ले गर्दैन उन्नति ।।
-कृष्णप्रसाद पोखरेल,कालो नैवेद्य ,विचार ( सूक्ति र कथन ) पृ. ४०

कवि कृष्णप्रसाद पोखरेलको जन्म वि. सं.२०१२ श्रावण २७ गते श्रीकृष्ण जन्माष्टमीका दिन चितवनको इच्छाकामना ३, डहकी चितवनमा पिता गिरिलाल पोखरेल र माता गीता पोखरेलका पुत्ररत्नका रूपमा भएको हो र हाल उनी चुम्लिङटारलाई स्थायी बसोबास बनाई सिर्जना-साधना,अध्ययन-अध्यापन, राजनाति र समाजसेवा गर्दै आइरहेका उनी असाध्यै मिलनसार , मृदुभाषी , उदारचेता, अनुशासित र कर्तव्यनिष्ठ र सहयोगी भावना भएका व्यक्तित्व हुन् ।
पूर्वमाध्यमिक तहमा पढ्दादेखि नै घरायसी वातावरणले पनि अनुप्रासीय कविता कण्ठाग्र भएका र रचना-अभ्यासतिर आकर्षित भई सकेका देखिन्छन् ।चितवनमा आयोजित साहित्यक कार्यक्रमहरुमा आवत-जावतका क्रममा उनीसँगै कवि नारायण पोखरेल र अनिल श्रेष्ठसँग पनि मित्रता र सहभाव गहिरिंदै प्रगाढिंदै र झ्याङ्गिदै गएको हो ।
चारदशक लामो औपचारिक शिक्षणसेवा पूरा गरी साहित्य सिर्जनामा अझै सक्रिय भई समर्पित कृष्णप्रसाद पोखरेल द्वन्द्वात्मक भौतिकवादी मार्क्सीय सौन्दर्यमा केन्द्रित भई रचना सिर्जना गर्ने प्रगतिवादी धाराका विद्रोही क्रानिकारी कवि हुन् । उनले वि.सं. २०३३ सालमा ‘नेपाली मितिदर्पण’ र २०६२ सालमा व्यवहारिक पुस्तकहरुको लेखन-प्रकाशनका अतिरिक्त फुटकर रूपमा कथा,कविता,समीक्षा, नाटक र संस्मरणहरु विभिन्न पत्र-पत्रिकाहरुमा प्रकाशन गरिसकेका छन् ।
‘कालो नैवेद्य’ ( कवितासङ्ग्रह,२०७६ ) उनको पछिल्लो मार्क्सीय सौन्दर्यपरक चेतनाऽभिमुख प्रगतिवादीधारमा रहेर रचना गरिएको सुन्दर कृति हो । यो कृति मलाई अस्ति २०७७ पौष ७ गते हरिहर सविता विशेषाङ्क ‘नौलो राँको’ ( अङ्क ११ ,०७७)को विमोचन समारोहको परिसरमा कविबाट उपहार स्वरूप प्राप्त भएको हो ।कृति हस्तगत भएपछि पढ्ने र लागेका कुरा लेख्ने पाठकीय विचारले एक दुई कुराहरु पस्कन लागेको हुँ । यो समीक्षा वा समालोचना भने होइन । मेरो समालोचनामा पहुँच छैन ।
अधिकांश पिङ्गल छन्दमा र केही लोकलयका आधारमा कृति संरचित छ ।पिङ्गलछन्द अन्तर्गत अनुष्टुप,इन्द्रवज्रा,शार्दूलविक्रीडित,उपजाति,वंशस्थ,मात्रिक,
भुजङ्गप्रयात,मन्दाक्रान्ता,वसन्ततिलका,शालिनी,चम्पकमाला,वियोगिनी,मालिनी,शिखरिणी स्रग्धरा लगभग पन्ध्रवटा छन्दहरुमा बयासी वटा रचनाहरु संकेन्द्रित छन् । वर्गीय पक्षधरता र मार्क्सीय चेतनाबिम्बी मनोभावहरु यस सङ्ग्रहका प्राप्ति हुन् ।
( २ )

कवि कृषणप्रसाद पोखरेलका पितामह ( बाजे ) स्व. पं. हरिलाल शर्मा पोखरेल गणित तथा ज्योतिष शास्त्रका विद्वान् भएका र राणा प्रधानमन्त्री देव शमशेरका पालामा देशैभरि खुलेका भाषा पाठशाला अन्तर्गत भीमफेदी र चितवनको उपरदाङ गढी र शेरवासको भाषा पाठशालामा अध्यापन गरेका थिए । पितामहको प्रभाव पौत्रमा पर्नु स्वाभाविक नै हो ।बाजेले कथेको रचना-

‘ बाइस् वर्ष हुँदा म काशिपुरिमा पढ्थें गणित् खुप् गरी ।’

भन्ने कवितांशबाट प्रभावित भएका छन् र यो कृति आदरणीय पितामह पं. ज्योतिर्विद् स्व. हरिलाल पोखरेलप्रति समर्पण गरेका छन् । कवि पोखरेल कविता सिर्जना र साहित्यमा निकै रुचि राख्ने व्यक्ति हुन् ।यसको ज्वलन्त उदाहरण भरतपुरतिर हुने प्राय: सबै साहित्यिक कार्यक्रमहरुमा कुरिनटारदेखि धाएर सहभागी हुनु नै हो । साहित्यप्रतिको उनको निष्ठा , रुचि र लगावलाई सलाम गर्दछु ।
‘कालो नैवेद्य’ कविता-कृतिको नाम हो । यसमा १४ वर्षदेखि ६४ वर्षसम्म रचना गरिएका कविताको सँगालो हो ।कृतिको नाम जुराउँदा अलङ्कार वा भावाभिव्यञ्जना वा पूरै कृतिको भावगत-आकार समेट्ने गरी गरिन्छ ।यसर्थ प्रकारान्तरले विकृति र विसङ्गतिले विरूपित समसामयिक सामाजिक,सांस्कृतिक र राजनीतिक विशृङ्खलन र भ्रष्टाचरणले अनुलिप्त परिवेशको चित्रबिम्बलाई सङ्केत गर्दछ । यही सत्य पनि हो ।’ कालो नैवेद्य ‘ का सम्बन्धमा ‘प्रकाशकीय’अन्तर्गत इच्छाकामना साहित्य प्रवाहका उपाध्यक्ष एकराज शर्माको शुभकामना , नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा जगतप्रसाद उपाध्याय ‘शुभ कामना ‘ मन्तव्य , ‘शब्दपूजक मित्रवर श्रीकृष्णप्रति’ का माध्यमले सुललित कवितामय शुभकामना , समालोचक विष्णु ज्ञवालीको ‘कालो नैवेद्य : युगको समीक्षाबाट निस्केको आप्तवाक्य’ तेजविलास अधिकारीको ‘भूमिका’ स्वयं कविको ‘सम्मति’ बाट पनि कृति र कृतिकारको वारेमा गहन विश्लेषण भएको छ ।अतएव सामान्य पाठकको हैसियतले मनमा उठेका तरङ्गलाई तरङ्गित गरेको मात्र हुँ ।कृतिको नामसित सम्बन्धित प्रस्तुति-

मैलो नराम्रो पसिना सबैको-
राम्रो हुने आर्जन त्यो उसैको ।
पूजा गरें यै श्रम भित्र यस्तो-
बाँड्दै छु नैवेद्य हुनेछ कस्तो ।।

रचनामा कविले उपमा, रूपक,समासोक्ति र दृष्टान्त वा सूक्तिमयताले भरिएका धेरै रचना गरेका छन् ।एउटा नमुना-

श्वेत सुकिला लेप घसेर
टाइँ फाइँ गर्छ जमेर
भित्र छ आफ्नै चिन्तन डेरो
नाच्न नजान्ने आँगन टेडो ।

पुछारमा यति भनौं कविले मीठा र पठनीय कविताका माध्यमबाट जीवनका तमाम आरोह अवरोहहरुलाई अनुभूतिका माध्यमबाट उजागर गरेका छन् । छन्द र भावलाई कविले सजिलोसित प्रकट गरेका छन् उनको आरोग्यमय जीवन र सुन्दर भविश्यको कामनासहित बिदा हुन्छु ।                                                                                                             केशवराज आमोदी
रत्ननगर नगरपालिका , चितवन