चुम्लिङ्गटारमा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालन

चुम्लिङ्गटारमा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालन

चुम्लिङ्गर :  चितवनको  इच्छाकामनामा पहिलो पटक नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा आएको छ । जिल्ला आयुर्वेद कार्यालय चितवनले इच्छाकामना गाउँपालिका ३ चुम्लिङ्गटारमा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा ल्याएको हो ।
केन्द्रको शनिबार गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले एक कार्यक्रमकाबिच उद्घाटन गर्नुभयो । अध्यक्ष गुरुङले इच्छाकामना गाउँपालिकामा आरोग्य सेवा केन्द्र स्थापना गरिएकोमा जिल्ला आयुर्वेदक कार्यालय रत्ननगरलाई धन्यवाद दिनुभयो । केन्द्रलाई प्रभावकारी बनाउन गाउँपालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता पनि जनाउनुभयो । गाउँपालिकाका नागरिकलाई सबै प्रकारको स्वास्थ्य सेवा पु¥याउन गाउँपालिका लागी परिरहेको उहाँले बताउनुभयो । भौगोलिक विकटता रहेको यस गाउँपालिकामा हरेक वडामा स्वास्थ्य सेवा केन्द्रहरु स्थापना गरिएको बताउनुभयो । साथै सडक दुर्घटना बढी हुने पृथ्वीराजमार्ग पनि यस गाउँपालिकामै पर्ने भएकाले गाउँपालिकाले शसस्त्र प्रहरी बल विवद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा स्थापना गरिएको ट्रमा सेन्टरमा व्यवस्थापकिय सहयोग गरिरहेको बताउनुभयो । आँखा उपचार केन्द्र सेवा पनि संचालनमा ल्याएको र दाँत उपचार केन्द्र पनि सञ्चलान ल्याउने बताउनुभयो ।


कार्यक्रममा जिल्ला आयुर्वेद कार्यालय रत्ननगर चितवनका जीवन बाबु घिमिरेले यस नागरिक आरोग्य सेवा केन्द्रमा नसा वाथ, यूरिक यसिड लगायतका रोगको निशुल्क जाँच तथा उपचार गरिनेछ । साथै तनाव व्यवस्थापन, जीवनशैली व्यवस्थापन, दुखाइको व्यवस्थापन जस्ता सेवा र उहाँ अनुसार एउटा केन्द्रमा एक जना वैद्य र एक जना थेरापीसम्बन्धी प्राविधिक रहने व्यवस्था गरिएको छ ।

चुम्लिङ्गटारका स्थानीय प्रमोद पोखरेलले लामो समयको पहलपछि इच्छाकामनामै पहिलो पटक आयुर्वेद सेवा ल्याउन सफल भएको भन्दै खुशी व्यक्त गर्नुभयो ।


कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कृतिकुमार श्रेष्ठ, नेकपा जिल्ला सचिवालय सदस्य प्रताप गुरुङ, नेपाली कांग्रेस जिल्ला सदस्य विष्णु कुँवर लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा बोल्ने वक्ताहरुले इच्छाकामनामा आयुर्वेद सेवा आउनु गर्वको कुरा भएको भन्दै यसलाई प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।


कार्यक्रम वडाध्यक्ष गोवर्धन अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो ।
यसैबिच नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनका लागि स्थानीय समाजसेवी कृष्णप्रसाद सापकोटाले निशुल्क घर उपलब्ध गराउनुभएको छ । दुई बर्षका लागि केन्द्र सञ्चालन गर्न निशुल्क उपलब्ध गराउनुभएको हो ।