काउलेबाट हपनी हुदैँ वर्लेङ सम्म नयाँ सडक खुल्यो,अध्यक्ष गुरुङद्वारा उद्घाटन

काउलेबाट हपनी हुदैँ वर्लेङ सम्म नयाँ सडक खुल्यो,अध्यक्ष  गुरुङद्वारा उद्घाटन

वर्लेङ :  चितवनको इच्छाकमना २ स्थित काउलेबाट हपनी हुदैँ वर्लेङ सम्म नयाँ सडक खुलेको छ । उक्त सडकको गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले एक कार्यक्रमकाबिच उद्घाटन गर्नुभयो ।
सडकको उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले यहाँको जनताहरुको सेवाका लागि आफु लगायत जनप्रतिनिधिहरु लागी परेको बताउनुभयो । उहाँले भन्नुभयो, “ सबैको प्रयासले आज यहाँको बासिन्दाले भोक्नुपरेको एउटा समस्याको सामाधान भएको छ, हामी यहाँको बासिन्दाहरुको सेवाका लागि निरन्तर लागीपरेका छौँ, यस वडाको टोलटोलमा सडक पु¥याउने काममा दिनरात नभनी लागीपरेका छौँ ।” साथै उहाँले यहाँको स्थानीयको आयआर्जनका लागि उन्नत जातको विउविजन वितरण गरिएको समेत बताउनुभयो ।
यहाँको विजुली बत्तीका लागि गाउँपालिकाले ६७ लाख बजेट विनियोजन गरिएको बताउनुभयो ।

वडाध्यक्ष पञ्च बहादुर चेपाङले अब यहाँका जनताहरुले उत्पादन गरेको तरकारी बजार सम्म लैजान सहज हुने बताउनुभयो । वडा नम्बर २ को धेरै जसो टोलटोलमा सडक सञ्जाले जोडिसकेको उहाँले बताउनुभयो । यहाँ चेपाङ समुदायका लागि आयआर्जनका कार्यक्रमहरु ल्याउने बताउनुभयो ।

गाउँपालिकाको रु ८५ लाख र केन्द्र सरकारको रु १५ लाख गरि एक करोडको लागनीमा उक्त सडकको नयाँ ट्रयाक खुल्ने काम सम्पन्न भएको प्रमुख प्रशासकिय अधिकृत सुकदेव लम्सालले बताउनुभयो । उहाँले अहिले कालोपत्रका लागि काम भइरहेको शक्तिखोर – फिस्लिङ सडकखण्डमा यो सडक जोड्न आवश्यकता महशुस गरेर आफै इन्जिनियर सहित यहाँ आएर वर्लेङ–हपनी सडकको सर्भे गरिएको बताउनुभयो । भविष्यमा यो क्षेत्रका लागि मुख्य मेरुदण्ड हुने शक्तिखोर– फिस्लिङ सडकमा सबै टोलबाट जोडिने गरि बाँकी सडकहरु निर्माण गर्नुपर्ने उहाँले बताउनुभयो ।
यो सडक निर्माण संगै माथिल्लो काउले,भोटे गाउँ हपनी लगायतका ११ वटा गाउँका बासिन्दाहरुलाई सहज भएको बताउनुभयो ।
उद्घाटन कार्यक्रममा वडा सदस्य बुद्धिमान गुरुङ, टोल सुधार समितिका अध्यक्ष पूर्ण बहादुर गुरुङ, मोटरबाटो समितिका सदस्यहरु लगायत स्थानीयहरु उपस्थिति रहेका थिए ।