ट्रम्पको समर्थकले मच्चायो हिंसा : एक महिलाको मृत्यु, वाशिङ्टनमा कर्फ्यु

ट्रम्पको समर्थकले मच्चायो हिंसा : एक महिलाको मृत्यु, वाशिङ्टनमा कर्फ्यु

काठमाडौं :  अमेरीकामा हिंसा मच्चिएको छ । राष्ट्रपति निर्वाचनको मत परिणाम उल्टाउने ट्रम्पको प्रयासले
हिंसा मच्चिएको हो । हिंसामा गोली लागेर एक महिलाको मृत्यु भएको छ भने राजधानी वाशिङ्टन डिसीमा कर्फ्यू लगाइएको छ ।

वाशिङ्टनस्थित संसद भवन (क्यापिटल बिल्डिङ)मा अमेरिकी कांग्रेसमा इलेक्टोरल कलेजलाई लिएर बहस चलिरहेको थियो । यही बहसपछि राष्ट्रपतिमा निर्वाचित जो बाइडन विजयी भएको औपचारिक र कानुनी पुष्टि गर्ने कार्यक्रम थियो । यसैक्रममा हालका राष्ट्रपति डोनाल्ड ट्रम्पका सयौं समर्थकहरु भेला भएर प्रदर्शन सुरु गरे ।

 

प्रदर्शनकारी क्यापिटल बिल्डिङ भित्रै प्रवेश गरे र अमेरिकी राष्ट्रपति चुनाव रद्द गर्न माग गर्न थाले । यसै क्रममा हिंसा सुरु भयो । प्रदर्शनकारीलाई रोक्ने प्रयासमा नेशनल गार्डस् एक्सनमा उत्रियो । क्यापिटल बिल्डिङमा प्रदर्शन गर्ने एक महिलालाई गोली लाग्यो । ती महिलाको अस्पतालमा मृत्यु भयो । उनको परिचय भने खुलेको छैन ।

करिब तीन घण्टाको तोडफोड र हिंसात्मक प्रदर्शनपछि अहिले स्थिति नियन्त्रणमा रहेको अमेरिकी अधिकारीहरुले बताएका छन् ।

अमेरिकामा भएको यो हिंसात्मक घटनाको चौतर्फी निन्दा भइरहेको छ । चुनावमा धाँधली भएको भन्दै ट्रम्पले विनाप्रमाण आफ्ना समर्थकलाई उक्साएको कारण हिंसा फैलिएकाले अमेरिकी लोकतन्त्र विश्वसामु लज्जित बनेको टिप्पणी भइरहेको छ ।