सल्लाहकार- तेजविलास

सल्लाहकार- तेजविलास

एकाबिहानै
सल्लाहकार मानेर मलाई
मेरो टोलको भाइ
ठूलो भतिज
माइलो साला
कसो गर्ने होला ?
म के गरुँ?
प्रश्न गर्छन् मलाई
समसामयिक राजनीतिमा

यी सबै सोध्छन्
पदको अफर छ
एउटा अवसर छ
छलाङ मार्न सकिन्छ कि !

सल्लाहकार अवाक् छ
राजनीति
काकाले चालीस वर्ष गरे
मामाले तिन दशक बिताए
निष्ठामै छन् कि धरमराए कुन्नि
जित्न सकेका छैनन् अझै जनमन

सोच्छु र भन्छु
पख न त केही दिन
प्रश्नकर्ता भन्छ
आजै र अहिल्यै चाहिन्छ सल्लाह
म बबुरो
अवैतनिक सल्लाहकार
न त जा भन्न सक्छु
न त नजा भन्न सक्छु
जाँदा हुने के हो
संविधानको मलामी वा मालामाल
नजाँदा हुने त्यही होला
काका र मामाको पारा
यो अनौठो एकाबिहानैको यो यक्ष प्रश्न
मेरो दिनभर
सोचको विषय बन्छ

आफैँ–आफैँलाई सम्झाउँछ
संविधान–विधान
विधि–सिद्धान्त
धोती लगाएपछि सत्ताले
मात्र यस्ता
कचेरा खाले प्रश्न
पानीको फोका जस्ता दृश्य
मुख रसाउने ग्रन्थी
सत्ता फ्याँकिरहन्छ निरन्तर
नत्र
ती मेरा आफन्त
कम्तीमा आफ्नो
व्यापार, पेशा, व्यवसाय
निष्ठापूर्वक गर्थे
लोभमा रमाएर
म जस्तो राजनीतिलाई पेशा
अझ व्यवसाय नठान्नेलाई
गर्दैनथे कि अनेक प्रश्न
लिँदैनथे कि अनिर्णायक सल्लाह ?                                                                                          तेजविलास अधिकारी