चटके चाला – तेजविलास

चटके चाला – तेजविलास

आजभोलि चटके
कार्यालयमा छैन आफ्नो
कि छ ऊ सरकारी निवासमै
कि छ देश दौडाहामा
सम्पन्न सरकारी निवासमै
ऊ नुहाउँछ जनताको पसिनाले
ऊ अघाउँछ जनताको श्रमले
ऊ पिउँछ जनताकै रगत ।
चटकेका केही सहयोगीहरु
चकित छन् फस्टाउँदो व्यापारबाट
हर्षित छन् नयाँ स्वादबाट
भनिरहन्छन् ठिक भयो
त्यसलाई हजुरले भनेको सही हो
मख्ख छन् हुस्सु दण्डलायक
केही थान भरौटेहरु
निलिरहेछन् थुक घुटुघुटु
जिल्ला–जिल्ला
प्रदेश–प्रदेश
आयोग, विश्वविद्यालय, परिषद्
अनि निर्माण व्यवसाय
ठूला ठेक्का के–के, के–के ।

रोइरहेछ जनता हरदिन
किसान मारमा छ
श्रमिक बेरोजगार छ
जम्मा पारेर आजभोलि
सरकारी चम्चाहरु
चटके
साइरन जडित सवारीमा
कहिले कुनै पार्टी प्यालेस
कहिले शितल निवास
कहिले सरकारी निवास
जोड जोडले
देखिन्छ कुदेको कुदेकै ।
सामाचार भनेर
छापिरहेछन्
आसेपासे अनलाइनडटकम
प्रहसनको एकफाँकी
लाइभ भरिरहेछन्
केही प्रायोजित भुस्याहा
टेलिभिजन कम्पनीहरु ।

जनताको समस्या
हल नभएको समय
चटकेको चटक नै
बनेको छ राष्ट्रिय समाचार
गाली साहित्य नै
बनेको छ उत्कृष्ट साहित्य
बद्नामहरु नै छाएका छन्
अधिक सञ्चारमा ।

श्रम गर्ने जिल्ल छ
सच्चा सोच्ने छक्क छ
खै !
के पढाइयो हामीलाई
देश, राष्ट्रियता, राजनेता
फिटिक्कै मिल्दैन त
परिभाषा अनुरुप
यहाँ त चटके चाला
मात्र तलदेखि माथिसम्म
धेरै–धेरै–धेरै नै
हावी हुन पुगेको दाबी छ ।