“रियालिटी शो”

“रियालिटी शो”

तेजविलास
हिजो
आज
भोलिसमेतको तालिकामा
छन् थुप्रै कार्यक्रमहरु
देश नै
सङ्कटको भुमरीमा परेको बेला
सरकारी निवास
अनि
सडक
सर्वोच्च
अनि
सार्वजनिक यातायात
जताततै छ बहस
नेता, व्यवस्था
पक्ष विपक्ष ।
लागिरहेछ मलाई भने
कुनै एक जोकरले
देखाइ दिएपछि
आफ्नो वस्त्र फुकालेर
त्यसका प्रतिक्रिया मात्र यी ।

एउटा हठी शासक
सायद
सय वर्ष अघि मात्र
भएको थियो भने
जन्म उसको
उसको आदेश
उसका सोच
पालनकर्ताले बनाउँथे
सफलिभूत ।
समय छैन आज त्यस्तो
पेटभन्दा वाक् स्वतन्त्रता
शासकभन्दा देश
कता हो कता
माथि मान्ने
चार सहिदका सन्तान
तेस्रो÷चौथो पुस्ता
लाखौँ छन् देशको
नशा नशामा ।
तथापि
कति दिन हेर्नु पर्ने हो
कार्यालय थुप्रै महिना नगएर
जान नसकेर
थलिएको एउटा
मनोरोगी खलनायकको
रियालिटी शो
गाली महात्म्य ।
ताली बजाउनेहरु
विषय सिकाउनेहरु
उकास्नेहरु कति व्यस्त ?
कति अनौठो दृश्य
एकछिन आफैँ हास्न
दर्शक के सोच्छन्
नपाएर पत्तो
राष्ट्रिय ढुकुटीमा
सजाइएका प्रत्येक मञ्चमा
निवस्त्र–निसङ्कोच
आफूलाई नायक सम्झँदै
देखाइरहेछ रियालिटी शो ।