यात्राको दुःख – तेजविलास

यात्राको दुःख – तेजविलास

थपिरहेछन् बिचौलिया सहकारी
कृषि अनुदानको सहयोग
अलपत्र छ मेरो
कृषि उपज
उब्जाउनु किन पर्यो
बजार नपाउने तरकारी
किन फलेको छ भन्न पर्यो
केरा, नासपाती, स्याउ ?

घरघरमा सहकारी सदस्य
टोलटोलमा सहकारी
समाजमा जति छन् विकासे कार्यकर्ता
राजनीति नेता त कति हो कति
सहकार्य हुन नसकेको
उत्पादक र उपभोक्ता
न्यून पैसामा पनि नबिक्ने
सस्तो र सुलभ नपाइने
अनौठो रोग छ भान्साको
कान्ला भीर खारेर
खोलिएकै छ रोड
जिम्मा लिनेहरू भएकै छन्
रातारात मालामाल ।

गुनासो राख्ने अधिकारी नै
गुनासो गर्छ सामाजिक सञ्जालमा
अख्तियार दुरुपयोग अनुसन्धान गर्ने नै
लुटेरा बनेको छ नागरिक नजरमा
अलमल्ल छु म
मजस्तै शब्द र अन्नका किसान
कतैबाट पनि भेट्नै सक्दिन
तिम्रो घोषणापत्रको समृद्धि
कतै पाउन सक्दिन
सामाजिक न्याय
चाप्लुसीमा साटिएको आदर
हुकुमीतन्त्रमा बदलिएको भोट नीति
अघाएकाले झन् पचाउने
अनि चपाउने
तामसी भोजन
खै !
सत्ताको नजरमा
कस्तो देखिँदो हो
लोकतन्त्रे केटो
अनि त्यसको अभिभावक
केटाको बा
आमा, दिदीबहिनीको
विषय उकुच परेको पीडा
दिन दहाडै हुने असुरक्षा
कलंकीको गाडीमा
लाग्ने मध्यस्थ जस्तो
खै कसरी नाप्ने हो
कुन मापकले राख्ने हो नाप
मेरो समाजवाद उन्मुख
तीब्रगतिको शिलान्यास यात्रा
अनि रात प्रतिरात
मनपरीतन्त्र ।