महामानव !

महामानव !

यतैकतै जन्मिरहेछ
आधुनिक महामानव!
कुल्चिएर जन अधिकारको छाती
लूट मच्चाउदै
फुट बनाउदै
उम्रेर यही बिचबाट
स्व-घोषित एउटा
फरक महामानव ।
हाम्रो समयको उत्पादन
एउटा मनोरञ्जक दृश्य
दर्शन गर्यौ ?
जाऊ
एक चोटि पक्का पुग/भेट
उसलाई ।


जनता मरिरहेको बेला
चलाइरहेको छ
ठट्टा महोत्सवको श्रङ्खला
जनता भोकले छटपटिरहेको समय
खोली रहेछ
कमिसन शाखा।
आफ्ना सयौ
पुजक जम्मा पारेर
आधिकारिक माध्यमबाट
सुनाइरहेछ धम्की
अनि
गरिरहेछ
उद्घघोष गर्दैनन् भने चाकरी
नबजाउने हो भने ताली
सोधिनस् भने मलाई
सजाइनस् भने भित्तामा
मेरो तस्बिर
देशद्रोही हो त्यो
जनद्रोही हो त्यो
मेरा भक्तहरू मात्र
योग्य /सक्षम/जुझारु
पख
तिमीहरूलाई
म कसरी गर्छु उपचार
म महामानव
म नै हो
हेर त !देख्यौ?
जन्मिरहेछ एउटा
जङ्गबहादुरको नाति पुस्ता
जङ्गबहादुरको अर्को
फरक र प्रतापी
म नै राज्य!
म मात्र राज्य।                                                                      तेज विलास अधिकारी – इच्छाकामना