मेरो भूगोल “कविता “

मेरो भूगोल “कविता “

-कैलाश काेइराला

आखिर भूगोल भन्नु नै के सिङ्गो पृथ्वी हो त ?
आयतनको मात्र उसको संसार
रुने र खुसीबिचको क्षेत्रफल नै उसको भूगोल
म खोज्दछु सायद म कुन भूगोलमा जन्मिए
मलाई जन्माउने वेला मेरी आमा समुन्द्रमाथि
हवाई जहाजमा उडिरहेको भए
सीमास्तम्भहरू रात रात हेराफेरी हुने ठाउँमा
जन्मिएको भए
शरणार्थी शिविरमा म जन्मिन पुगेको भए
भूगोल बढाउन हिडेको
नेपोलियन बाेर्नापाटको युद्धको अन्त्य
अलेक्जेन्डर जानु परेको रित्तो हात
हिटलरले गर्नु परेको मृत्युवरण
चीनले भारतसँग युद्ध लडी गरेको जमिन कब्जा
अनि त मैले मेरो भूगोल खोजेको छु
म देख्छु आकाशको न कही आदि न अन्त
सागरको न कुनै क्षय न कुनै वृद्धि
सुर्य न उदाएको पाउँछु न अस्ताएको
त्यसैले म दलको सदस्यता बाेकेर
भूगोलको खोजिमा छु
गाेजीमा नागरिकता बाेकेर
एक मुठी श्वासकाे खाेजीमा छु
मलाई जन्माउने कोख
लिपुलेक र लिम्पुवाधुरामा भयको भए
अनि सम्झन पुग्छु जीवनपर्यन्त भूगोल नपाएका
गोपाल भुटानी अनि पारिजातलाई
अनि पढ्छु देवकोटा, विपी र योगी नरहरिनाथकाे
जन्ममा भएकाे भौगोलिक त्रुटि
त्यसैले म मेरो भूगोलको खोजिमा छु
अहिले एक मुठी श्वास मेरो भुगोल भएको छ
भूगोलको न आरम्भ छ न त अन्त
मनोकामनाको न पुर्णता छ न रिक्तता
जुन आरम्भ हो, त्यहि नै विलय
ईतिश्री भयो भने पनि शुभारम्भ बाँकी नै रहन्छ
मेरो भूगोलको आरम्भ नै मेरो आमाको कोख
जुन अनादि र अनन्त छ
आरम्भ त्यहि नै ईति।।