एनआरएनए सामाजिक अभियन्ता विनय अधिकारी “सकारत्मक सोचौ र आफन्तको ज्यान बचाऔ”अभियानमा

विनय अधिकारी
अध्यक्ष, ग्लोबल गोरखा समाज
कोरोनाको दोस्रो लहरले यतीबेला विश्व नै आक्रान्त बनिरहेको छ । कतिपय मूलुकहरु लामो लकडाउन पछि केही तंग्रिन थालेका छन् भने अधिकांश देशहरु अझै पनि कोरोनाको चपेटोमा नै परिरहेका छन् ।
हाम्रो देश नेपाल यतिबेला कोरोनाका कारण निकै नै पिडित बनेको छ । कोरोनाको पहिलो लहरका कारण लामो समयसम्म थलिएको अर्थतन्त्र,व्यापार व्यवसाय आदी इत्यादी केही चलायामान हुनै लाग्दा पुनः दोस्रो लहरले सबै क्षेत्र ठप्प बनाएको छ । यतीबेला पुनः देशका अधिकांश स्थानमा लकडाउन छ । संक्रमितको संख्या र मृत्युदरमा खासै सुधार आउन सकेको छैन ।
आशा गरौं, अन्य कुरा विस्तारै सहज हुँदै जाला, तर देश अनि अस्पतालले धान्नै नसक्ने गरि संक्रमितको संख्या बढिरहेको छ, । यो परिस्थितीमा हामी देश विदेशमा रहेका सबै नेपालीहरु एकजुट हुन आवश्यक छ । राजनीतिक दलहरु पनि सबै कुरा बिर्सीएर जनता बचाउने अभियानमा एकढिक्का भएर उभिनु आवश्यक छ । उपचार पाएर मृत्यु हुनु फरक कुरा हो, तर हामी यस्तो विषम परिस्थितीमा छौं जहाँ बेड नपाएर मृत्युवरण गर्नुपर्ने अवस्था छ । अक्सिजन नभएकै कारण मृत्युले जितीरहेको छ ।
यस्तो कहालीलाग्दो अवस्थामा हामीले हाम्रो आमा,बुबा, दाजु भाई, दिदी बहिनीको ज्यान बचाउनु भन्दा ठूलो धर्म के नै हुन सक्छ र ? पछिल्लो समयमा विभिन्न मुलुकमा रहनु भएका नेपालीहरुले सहयोगी हात अघि नबढाउनु भएको पनि हैन । यतिबेला नेपाललाई निकै नै सहयोगी हातहरु ज्ुटिरहेको छ । विभिन्न मुलुकहरुले पनि निरन्तर सहयोग गरिरहेको छ । रोदनको आहालमा डुबेको नेपालमा यस्तै सहयोगका कारण केही उज्यालो किरणको आशा पलाएको छ । ती सहयोगी हातहरुप्रति निकै नै आभारी छु । तथापी यती मात्र पर्याप्त पक्कै छैन ।
हामी अझै पनि जुट्ने बेला आएको छ । यो कठिन समयबाट पार पाउन हामी जसले जे सक्छौ त्यही गर्नु आवश्यक छ । नेपाल अनि नेपालीहरको घाउमा थोरै भए पनि मल्हम लगाउने उदेश्यले हामीले पनि अभियानको सुरुवात गरेका छौं । ग्लोबल गोरखा समाजले १ लाख बराबरको लागत पर्न आउने र २ जना बिरामीको लागी प्रत्यक्ष प्रयोग गर्न सकिने कुल ६६ स्वास्थ्य चौकी र अस्पतालहरुमा कम्तिमा १ स्वास्थ्य चौकी, १ अक्सिजन कन्सनट्रेटर, १ प्राथमिक उपचार केन्द्र २ अक्सिजन कन्सनट्रेटर र १ हस्पिटल ४ अक्सिजन कन्सनट्रेटर उपलब्ध गराउने उद्देश्यका साथ १ अक्सिजन कन्सनट्रेटर २ जीवनदान अभियान सञ्चालन गरिरहेको छ ।
समयमा नै आइसियूको व्यवस्थापन हुन सके र समयमा नै अक्सिजन पाउन सकेमा कसैले पनि अल्पायूमा ज्यान गुमाउनु पर्दैन । यतिबेला सरकारलाई मात्रै गाली गर्ने हैन की हामीले पनि आफनो पक्ष बाट सहयोग गर्नु हाम्रो दायीत्व हो । हाम्रा परिवारका सदस्यहरु अझै पनि अक्सिजनको पर्खाइमा हुनुहुन्छ । तपाई हाम्रो सानो सहयोगले उहाँहरुले नयाँ जिवन पाउनु हुनेछ । त्यसैले यस अभियानमा देश विदेशमा रहनु भएका सबै नेपाली दाजुभाई दिदी बहिनीहरु एकजुट हुन आवश्यक छ ।
