गोरखाको गण्डकी गाउँपालिकाको आग्रिडाँडा–दलभञ्ज्याङ सडक कालोपत्र हुदैँ

गोरखाको गण्डकी गाउँपालिकाको आग्रिडाँडा–दलभञ्ज्याङ सडक कालोपत्र हुदैँ

दान बहादुर गुरुङ
भूम्लिचोक  :  गोरखाको गण्डकी गाउँपालिकाको आग्रिडाँडादेखि वतासे भञ्ज्याङ्ग सम्मको सडकको कालोपत्र सहित स्तरोन्नती काम भइरहेको छ । आग्रिडाँडा–दलभञ्ज्याङ–रानिश्वाँरा–कौदी–पौवा–हटिया–कुवापानी–वतासेभञ्ज्याङ सडक आयोजना अन्तरगत स्तरोन्नतिको काम भइरहेको हो ।
हाल उक्त सडक आयोजना अन्तरगत आग्रीडाँडा–दलभञ्ज्याङ्ग सडकको ३.५ किलोमिटरको काम भइरहेको आयोजनाले जनाएको छ । २०७७ असार १ गते सम्झौता भई काम सुरु भएको आग्रिडाँडा–दलभञ्ज्याङ्ग–रानिश्वाँरा–कौदी–पौवा–हटिया–कुवापानी–वतासेभञ्ज्याङ्ग सडक आयोजना अन्तरगत नाला मेसिनरी वाल ग्याविनको काम गरिरहेको महादेव भैरवी कन्स्ट्रक्सन प्रा.लि.का प्रोप्राइटर तील बहादुर गुरुङले बताउनुभयो ।
केन्द्र सरकार र गाउँपालिकाको संयुक्त लगानीमा (समपुरक कोष) बाट ९ करोड ९९ लाख लाख ६३ हजार ९ सय ३१ रुपैयाँको लागतमा उक्त सडक स्तरोन्नती सुरु भएको हो ।अहिले सडकको कटिङको काम सम्पन्न भई नाला सहित ८ मिटर चौडाई बनाउने काम भइरहेको छ ।
आग्रिडाँडा–दलभञ्ज्याङ्ग–रानिश्वाँरा–कौदी–पौवा–हटिया–कुवापानी–वतासेभञ्ज्याङ सडक आयोजनाको काम २०७७ असार १ गते देखि इनर्जी होम जेभि गोरखाले गरिरहेको छ । उक्त सडक २०८० असार १ गते सम्म कालोपत्र गरिसक्ने गरि सम्झौता भएको वडा नम्बर ६ का वडाध्यक्ष जीवन गुरुङले बताउँनुभयो । यस सडकबाट वडा नम्बर २, ३, ४, ५ र ६ का बासिन्दाहरु प्रत्यक्ष लाभान्वित हुने वडा अध्यक्ष गुरुङले बताउँनुभयो ।