एमाले प्रवेश गरेका चार पूर्वमाओवादी नेताको पेशी निवेदकको सुनुवाइ स्थगित

एमाले प्रवेश गरेका चार पूर्वमाओवादी नेताको पेशी निवेदकको सुनुवाइ   स्थगित

काठमाडौं   : माओवादी परित्याग गरि एमालेमा प्रवेश गरेका चार नेताले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि सुनुवाइ स्थगित भएको छ।

बिहीबार हेर्न नभ्याइएको रिट आज पेशी तोकिएको थियो। तर निवेदकका कानुन व्यवसायीले आजको पेशी स्थगित गर्न आग्रह गरेपछि स्थगित गरिएको सर्वोच्च अदालतले जनाएको छ। आजको पेशी न्यायाधीश डाक्टर आनन्दमोहन भट्टराईको इजलासमा तोकिएको थियो।

माओवादी केन्द्रबाट सांसद बनेका नेताहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए। चारै नेताले सांसद् पदमा पुनर्बहालीको माग गरेका छन्।

उनीहरूले आफूहरूले दल त्याग नगरेको र निर्वाचन आयोगले असार २३ गते दिएको विवरणमा आफूहरू माओवादी केन्द्रकै सदस्य रहेको भन्दै सभामुखले आफूहरूको सदस्यता खारेज गरेको निर्णय बदरभागी हुनुपर्ने जिकिर गरेका छन्।​

फागुन २३ गते सर्वोच्च अदालतले गरेको फैसलापछि उनीहरू माओवादी छाडेर एमाले प्रवेश गरेका थिए। त्यसपछि माओवादीले पार्टीको विधान विपरीत अन्य दलको राजनीतिमा सहभागी भएको देखिएको भन्दै उनीहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी गत चैत २४ गते कारबाही गरेको थियो।