इच्छाकामनाका गाउँपालिकाले वडा नं १ र २ का नागरिकहरुको लागि हात्तिवाङबाट एम्बुलेन्स सञ्चालन गर्ने

इच्छाकामनाका  गाउँपालिकाले वडा नं १ र २ का नागरिकहरुको लागि  हात्तिवाङबाट एम्बुलेन्स सञ्चालन गर्ने

कुरिनटार :  चितवनको इच्छाकामना गाउँपालिकाले अर्को पनि नयाँ एम्बुलेन्स खरिद गर्ने भएको छ। यसका लागि गाउँपालिकाले आर्थिक वर्ष २०७८÷७९ को बजेट निति तथा कार्यक्रममा समावेश गरेको छ।

विशेष गरेर गाउँपालिकाको माथिल्लो भेग वडा नं १ र २ का नागरिकहरुको लागि सेवा दिने गरि नयाँ एम्बुलेन्स खरिद गर्न लागिएको गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले जानकारी दिनुभयो । अध्यक्ष गुरुङका अनुसार अब ल्याउन लागिएको एम्बुलेन्स हात्तिवाङबाट संचालन गरिने र त्यस आसपासका गाउँहरुका नागरिकहरुलाई सेवा उपलब्ध गराईनेछ।

गाउँपालिका भित्र रहेका अधिंकाश एम्बुलेन्सहरु बजार क्षेत्रमा मात्र संचालनमा रहेको र पहाडी क्षेत्रहरुमा पर्ने ती गाउँहरुमा बिरामी लिनका लागि जान गाह्रो मान्ने, नजाने, आपतकालिन बिरामीहरु लिन जादा ढिलाई हुने लगायतका समस्याहरुलाई मध्यनजर गर्दै गाउँपालिकाले गाउँबाटै संचालन गर्ने गरि नयाँ एम्बुलेन्स ल्याउन लागेको अध्यक्ष गुरुङले बताउनुभयो । यहि आर्थिक वर्ष भित्र नयाँ एम्बुलेन्स खरिद गरिने उहाँको भनाई छ।
यस अघि गाउँपालिकाले एउटा एम्बुलेन्स सञ्चालनमा ल्याएको छ ।