आज एकै दिन पाँच हजार बढीले गरे मनकामना मन्दिरको दर्शन

आज एकै दिन पाँच हजार बढीले गरे मनकामना मन्दिरको दर्शन

कुरिनटार, २ असोज । प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरमा दर्शनार्थीहरुको आवगमनमा वृद्धि हुदैँ गएको छ । आज मात्र पाँच हजार भन्दा बढीले मनकामना मन्दिर दर्शन गरेका छन् । केबलकार र सडक मार्ग मार्फत पाँच हजार भन्दा बढी दर्शनार्थी मनकामना मन्दिर पुगेको मन्दिरका मुल पुजारी इनशान थापा मगरले बताउनुभयो । केबलकार चढेर मात्र चार हजार ७०८ जना मनकामना मन्दिर पुगेको मनकामना केबलकारका अपरेसन एण्ड मेन्टिनेन्स हेड (इन्जिनियर) सुनिल कर्मचार्यले जानकारी दिनुभयो ।

कोरोना महामारीका कारण बन्द भएको मनकामना मन्दिर खुला गरेसँगै गत भदौ २३ गतेदेखि मनकामना केबलकार पनि सञ्चालनमा आएका हुन् ।
स्वास्थ्य मापदण्ड अपनाएर हेल्थ डेस्क समेत स्थापना गरि मनकामना मन्दिर दर्शनार्थीका लागि खुला गरिएको हो । केबलकार पनि पूर्णरुपमा स्वास्थ्य मापदण्ड पालना गरि सञ्चालन गरिएको मनकामना दर्शन प्रा. लि. ले जनाएको छ ।